Sajhamanch Archive

सिम्रिक साकोसः मृतक सदस्यको कर्जा मिनाहा, बिरामीलाई उपचार सहयोग

Published: in अर्थतन्त्र, समाज, सहकारी by .

दमक । बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज दमक क्षेत्रका आफ्ना तीन सदस्य परिवारलाई राहत प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको नेतृत्वमा विभागीय प्रमुखहरु विजय बस्नेत, मीनबहादुर अधिकारीसहित दमक आएको टोलीले दमक २ मा आयोजित संक्षिप्त कार्यक्रममा राहत प्रदान गरेको हो । दमक नगरपालिका वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा राहत हस्तान्तरण गरिएको हो ।

सिम्रिकका सदस्य महेश साहाको हालै निधन भएकाले उनको नाममा रहेको कर्जा एक लाख रुपैयाँ संस्थाको कर्जा नीति अनुसार मिनाहा गरिएको पत्र पत्नी उषा साहालाई हस्तान्तरण गरिएको छ ।

यसैगरी, संस्थाको सदस्य राधिका बस्नेत कार्कीको पाठेघरको शल्यक्रिया भएकाले उपचार सहयोग वापत २२ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ । यस्तै शेयर सदस्य निर्मल गजुरेलको पत्नी अस्मिता अधिकारी गजुरेलको एपेण्डिसाइट्सको शल्यक्रिया गर्न उपचार राहत नीति बमोजिम ६ हजार ७०० रुपैयाँ प्रदान गरिएको हो ।

राहत हस्तान्तरण पछि वडाध्यक्ष प्रजापति सापकोटाले ऋणिको मृत्युपछि ऋण मिनाहा, सदस्यको उपचारमा आर्थिक सहयोगजस्ता कार्यक्रमले सहकारीप्रतिको जनविश्वास बढ्दै गएको बताए । उनले भने, स्थानीय सरकारले पनि गर्न नसकेका कामहरु सहकारीको मार्फत् भइरहेकाले सहकारी अभियानमा लाग्न सबैलाई उत्प्रेरित भइहेको छ ।

संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन विभागीय प्रमुख अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *