स्वरोजगार बन्न झापाका युवालाई ऋणसँगै अभिमुखीकरण
Published:
by .बिर्तामोड । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट यहाँका सहकारीमार्फत् बिना धितो कर्जा पाएका पाँच दर्जन सहकारी सदस्यहरुलाई आज अभिमुखीकरण गरिएको छ । कोषका कार्यक्रम संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले स्वरोजगार कोषको लक्ष्य बेरोजगारलाई रोजगार बनाउने, सीप नभएकालाई सीप सिकाउने अनि उद्यमशील बनाउन २ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्रिय कार्यक्रम भएको बताए । स्वरोजगार कोषमार्फत् झापाका युवामाझ लगानी गरिएको ऋण गुणस्तरीय रहेकाले अबका दिनमा पनि गुणस्तरीयता कायम राख्न प्रमुख जिल्ला अधिकारी दाहालले सबैलाई सजग गराए ।
उनले भने, ‘सहकारी सिद्धान्तलाई बाइपास गरेर गरिएको कर्जा लगानी लगभग डुब्छ । यसले समस्या पनि सिर्जना गर्छ । त्यसैले तपाईंको सहकारी संस्थाले प्राप्त गरेको सहुलियत दरको ऋण रकमबाट विपन्न सदस्यहरुलाई कर्जा लगानी गर्दा उद्देश्य मेल खाने गरी मात्र गर्नुहोला ।’
तालिममा सहभागीहरुलाई साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले स्वरोजगार कोषबाट सहुलियत कर्जा लिएर आफ्नो जीवनमा रचनात्मक परिवर्तन गर्न सफल बिर्तामोडका शर्मिला अधिकारीको उदाहरण दिँदै नयाँ ऋणिलाई पनि उदाहरणीय बन्न उत्प्रेरित गरे ।
सो कार्यक्रममा लक्ष्मी नारायण साकोसका देबेन्द्र बस्नेतले अभिमुखीकरण तालिमबारे आफ्ना धारणा राखेका थिए ।
त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड, नवजागरण समृद्धि बचत तथा ऋण सहकारी संस्था कनकाई र लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकचकीले अभिमुखीकरण आयोजना गरेका हुन् ।
त्रिनेत्र बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशवकुमार खड्काको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले सहजीकरण गरेका थिए ।
नवजागरण समृद्धि बचत तथा ऋण सहकारी संस्थाका सचिव बद्री दाहालले शब्दमार्फत् स्वागत गरेको कार्यक्रमको सञ्चालन त्रिनेत्रका सचिव चन्द्रदास खरेलले गरेका थिए ।
Comments