Sajhamanch Archive

कुमार भट्टराइकृत ‘अश्वत्थामा’ विमोचित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

बिर्तामोड । मेरो रेडियो शनिश्चरेको प्रबन्ध निर्देशक, पत्रकार कुमार भट्टराईले लेखेको नविनतम् कृति अश्वत्थामाको आज विमोचन गरिएको छ ।

विर्तामोडमा आयोजित विमोचन समारोहमा साहित्यकार गणेश रसिकसहित लेखक भट्टराईले अश्वत्थामा उपन्यासको विमोचन गरेका हुन् । विमोचन चरणमा अग्रज पत्रकार चन्द्र भण्डारी तथा साहित्यकार मिश्र बैजयन्तीले साथ दिएका थिए ।

पत्रकार तथा साहित्यकार भट्टराईको यो छैठौं कृति हो । यसलाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो । कृतिको मूल्य ४९५ रुपैयाँ राखिएको छ ।

कृतिमाथि साहित्यकार मिश्र बैजयन्ती र पत्रकार बसन्त बस्नेतले समीक्षा गरेका छन् भने पत्रकार भण्डारीले टिप्पणी गरे ।

साहित्यकार बैजयन्तीले महाभारतमा नलेखिएको पाटो अश्वत्थामामा पाएको बताइन् । वर्तमानमा भइरहेका यति धेरै गतिविधिहरुलाई छाडेर लेखक किन पौराणिक यूगमाथि चिन्तन गर्न पुग्यो साहित्यकार बैजयन्तीको प्रश्न थियो ।

‘महाभारतमा महिलालाई ‘वेश्या’ जत्तिकै बनाएको कथा छ तर अश्वत्थामाका लेखक भट्टराईले ती महिला किन सन्तान उत्पादनको मेसिनमा सिमित बनिरहेका थिए भनी प्रश्न उठाएका छन्’ बैजयन्तीले समीक्षाका क्रममा बताइन् ।

अश्वत्थामाको लेखकीय पक्ष लीलामयी चरित्रको भएको तथा कथाशैली राम्रो र परिस्कृत रहेको पनि बैजयन्तीको भनाई छ ।

साहित्यकार लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले अब अश्वत्थामाका लेखकलाई केवल कुमार भट्टराइमात्र नठान्न सुझाउँदै मदन पुरस्कार प्राप्त गर्न सफल हुने कृतिको संज्ञा दिए ।

लेखक भट्टराइले अश्वत्थामाको जन्म कसरी भयो भन्ने कुरालाई जोड्दै विभिन्न कृतिहरुको अध्ययन पछि यसको उठान गर्न बल पुगेको बताए । अश्वत्थामाले कृष्ण धरावासीको ‘राधा उपन्यास’, राधाकृष्ण मैनालीको आत्मकथा ‘नलेखिएको इतिहास’सहित पौराणिक ग्रन्थ ‘महाभारत’ पढ्दा उत्खनन गर्न बाँकी रहेको पाटोलाई प्रस्तुत गरिएको लेखकको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *