मेचीनगरमा टोल विकास संस्थाका जिम्मेवारहरुलाई अभिमुखीकरण
Published:
by .चारआली । टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार मेचीनगरमा सम्पन्न भएको छ । १३ नम्बर वडा कार्यालयले चारआलीमा आयोजना गरेको कार्यक्रमको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी हुन् ।
उद्घाटन मन्तव्य राख्दै नगरपालिकाको न्यायिक समिति संयोजकसमेत रहेकी उपप्रमुख उप्रेतीले अब हरेक ठाउँका टोल विकास संस्थाहरु चलायमान हुनुपर्ने र संगठितरुपमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।
आफ्ना ठाउँमा निर्माण भइरहेका योजनाहरु कति गुणस्तरीय छन् त्यसको रेखदेख गर्ने जिम्मा टोल विकास संस्थाको रहेको र हरेक टोलबासी संगठित रुपमा अघि बढ्नुपर्ने बताइन् । अहिले जे गर्दा पनि उपभोक्ता समिति गठन गर्ने प्रक्रिया छ अब टोल विकास संस्थामार्फत हरेक विकास निर्माणका काम गराउने सोचमा स्थानीय सरकार रहेको उनको भनाई थियो ।
वडाध्यक्ष कृष्णराज सिग्देलको सभापतित्वमा भएको अभिमुखीकरणमा वडाका ३९ वटा टोल विकास संस्थाबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष तीनजना गरी सयजना भन्दा बढीको सहभागिता रहेको थियो ।
सहभागीलाई गैर सरकारी संस्था महासंघ नेपाल झापा शाखा सचिव सोमराज ढकालले प्रशिक्षण दिएका थिए । उनले टोल विकास संस्थाहरु सामुहिक विकासमा एकता हुनुपर्ने भन्दै टोल विकास संस्थाका पदाधिकारीहरुको गठन, यसको परिकल्पनाका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
टोल विकास संस्थाका २० वटा काम कर्तव्य र अधिकारका बारेमा सहभागीलाई जानकारी दिएका थिए । कार्यक्रम सञ्चालन वडा कार्यालयका कर्मचारी अनिता राजवंशीले गरेकी थिइन् ।
Comments