प्रधानमन्त्री ओली र तिब्बती नेताबीच भेटवार्ता
Published: (Updated: )
by .बेइजिङ । चीन भ्रमणका क्रममा बेइजिङबाट शुक्रबार अपरान्ह तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री केपी ओलीले चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालासँग भेटवार्ता गरेका छन् ।ल्हासाबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरलाई बताए अनुसार प्रधानमन्त्री ओली र तिब्बती नेता छीबीचमा शनिबार मध्यान्ह सौहाद्र्धपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको हो ।
नेपालसँग १४१४ किलोमिटरभन्दा लामो सिमा जोडिएको चीनको तिब्बत स्वायत्त प्रदेशको सम्पूर्ण वैदेशिक व्यापारको ७५ प्रतिशतभन्दा बढी नेपालमाथि निर्भर रहेको छ । नेपाल र चीनको तिब्बतबीचमा लामो समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । तिब्बतको ल्हासामा एकमात्र विदेशी नियोगका रुपमा नेपालको महावाणिज्यदूतावास रहेको छ भने तिब्बतबाट हुने अन्तर्राष्ट्रिय उडान काठमाडौंमा मात्र हुने गरेको छ ।
चीन विरोधी गतिविधि तथा पृथकतावादी गतिविधिलाई नियन्त्रण गर्न नेपालले गरिरहेको कार्य तथा प्रतिबद्धताको व्याख्या गर्दै विकासका अनुभव चीनसँग आदानप्रदान गर्नका लागि विभिन्न क्षेत्रबीचमा अन्तरक्रिया आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताएको मन्त्री ज्ञवालीले उल्लेख गरे ।
एक चीनको नेपाली नीति र अन्तर्राष्ट्रिय क्षेत्रमा चीनलाई दिँदै आएको सहयोगप्रति नेता छीले खुलेर प्रशंसा गरे । नेपालमा राजनीतिक स्थायित्व सुरु भएकाले आर्थिक विकासका गतिविधिमा तिब्बत जनसरकारले नेपाललाई सघाउने पनि उनले बताए ।
नेपाल र चीनबीच भएका सहमति र सम्झौताको कार्यान्वयनमा चीनको तिब्बत जनससरकार र तिब्बत स्वायत्त प्रदेशको विशेष भूमिका रहने र खास गरेर सीमा क्षेत्रमा आपसी आदानप्रदानलाई घनिष्ट बनाउनका लागि तिब्बत जनसरकारसाग नेपालले मिलेर काम गर्ने प्रधानमन्त्री ओलीले औँल्याए ।
कृषि, पर्यटन, स्वास्थ्य, लगायतका क्षेत्रमा सम्पर्क बढाउनका लागि तिब्बत स्वायत्त प्रदेशले विशेष भूमिका निर्वाह गर्ने भएकाले यस्ता विषयमा सहयोग आदानप्रदान गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेको मन्त्री ज्ञवालीले बताए ।
नेपालले दृढतापूर्वक एक चीनको नीतिमा समर्थन र सहयोग गरेकोमा नेता छी चालाले नेपालको उच्च प्रशंसा गरे । उनले हाल तिब्बत जनसरकारको तर्फबाट नेपाललाई प्रदान गरिरहेको सहयोगको बारेमा पनि प्रकाश पारेका थिए । चीनको केन्द्र सरकारसँग नेपालले गरेका सहमति र सम्झौताहरुको कार्यान्वयनमा आफ्नो प्रान्तले सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने बताउँदै उनले भने ‘हामी सहयोगका नयाँ क्षेत्रहरु पनि पहिल्याउँछौँ ।’
चीन र नेपालबीचमा हुने साझेदारीमा थुप्रै क्षेत्रहरु रहेको र ती नयाँ क्षेत्रको अध्ययन गर्न आफूले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइसकेको नेता छीले उल्लेख गरे । तातोपानी नाका खोल्ने बारेमा केन्द्र सरकारसँगै समझदारी बनिसकेकाले अब तिब्बत जनसरकारले त्यसको कार्यान्वयन गर्ने नेता छीले भनेको मन्त्री ज्ञवालीले बताए । पछिल्लो समय केरुङ नाकामा देखिएको समस्याका बारेमा प्रधानमन्त्री ओलीले नेता छीलाई जानकारी गराएका छन् ।
सहज आवतजावतका लागि त्यति सजिलो नभइरहेको भन्दै सीमित व्यक्तिले मात्र प्रवेश पास पाउने भएकाले ड्राइभर र अन्य व्यापारीहरुले समस्या भोगिरहेको प्रधानमन्त्री ओलीले जानकारी गराएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आफूले यो समस्याको समाधानका लागि सम्बन्धित अधिकारीलाई निर्देशन दिने नेता छीले बताए ।
प्रधानमन्त्री ओलीको स्वागतमा शुक्रबार साँझ छी चालाले ल्हासामा स्वागत रात्रिभोज दिएका थिए । शनिबार भएको भेटवार्तामा छी चालासँग तिब्बत जनसरकारका मन्त्रीहरु पनि सहभागी थिए ।
शनिबार बिहान प्रधानमन्त्री ओलीले पोतला दरवारको अवलोकन गरेका थिए भने नेपाली राजकुमारी भृकुटीले बनाउन लगाएको जोखाङ गुम्बाको पनि अवलोकन गरेका छन् । त्यसैगरी शनिबार अपरान्ह प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिहरुलाई लिएर ल्हासा सहर नजिकैको कृषि फर्मको अवलोकन गरेका छन् भने साँझ महावाणिज्यदुतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने भएका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरेर आइतबार बिहान काठमाडौं फर्कदैछन् ।
Comments