Sajhamanch Archive

‘पत्रकारहरुसँग म डराउँछु’ : नगरप्रमुख शिवाकोटी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई आजदेखि तीन दिनसम्म देवानी संहिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा नारी सञ्चार गृह झापाले तालिमको आयोजना गरेको हो । गृहका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आज बिहान नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले तालिमको उद्घाटन गरिदिए ।

नगरपालिकाकै आर्थिक सहयोगमा पत्रकारको संस्थाले आयोजना गरेको तालिम उद्घाटन पछि नगरप्रमुखले जनप्रतिनिधिहरु व्यस्त रहेको समयमा तालिम राखेर ठीक काम नगरेको टिप्पणी गरे ।

नगरप्रमुख शिवाकोटीले भने, ‘पत्रकारहरु मेरा अभिभावक हुन्, म उनीहरुसँग डराउँछु तर गार्जियन नै उल्टा परिदिए पछि ! असार १० गते स्थानीय तहले बजेट ल्याउनै पर्ने मन्त्री पण्डितको आदेश छ । यो तालिमको न समय मिल्यो, न त तालिका नै मिल्यो !’

नगरप्रमुख शिवाकोटीले थपे, ‘पत्रकारहरु हाम्रा सहारा हुन्, सबै पत्रकारहरु क्वालिटीका भएनन् । बरु यो बजेटले पत्रकारहरुको क्वालिटी विस्तार गरेको भए हुन्थ्यो, जनप्रतिनिधिहरुलाई देवानी संहिता पढाउनु पर्दैन ।’

सो अवसरमा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले २०७५ भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी संहितालगायत ऐन नियमहरुको आधारमा न्यायिक समितिमा छलफल एवम् मेलमिलाप गराइँदै आएकाले तालिम फलदायी बन्नेमा विश्वास व्यक्त गरिन् ।

‘मेलमिलाप केन्द्र वा न्यायिक समितिमा आएका मुद्धाहरु जथाभावी मिलाउने गरिएको छैन । बनाइएका ऐन, नियम, नीति र विधिहरुकै आधारमा निर्णयहरु गरिएकाले नै बिर्तामोड नगरपालिकाको न्यायिक समिति नेपालकै उत्कृष्ट बनेको हो’ उपप्रमुख प्रसाईले थपिन्, ‘यो तालिमले मुद्धामा सहजीकरण गर्न तथा मेलमिलाप गराउने उपायहरु अवलम्बनका विधिहरु पनि सिकाओस् ।’

तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले तालिम सफलताको शुभकामना राख्दै वर्तमान केही ऐन नियमहरु प्रेसमैत्री नरहेकोमा दुख व्यक्त गरेका थिए ।

तालिमको सहजीकरण अधिवक्ताद्वय कमला आचार्य र देवी निरौलाले गरिरहेका छन् । तालिममा ३० जनाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । तालिम उद्घाटन कार्यक्रममा आमन्त्रितहरुलाई आयोजक संस्थाका उपाध्यक्ष भीमा शिवाकोटीले शब्द स्वागत गर्दै तालिमको औचित्य प्रष्ट्याएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *