प्रमुख अतिथि सम्बन्धी भएको प्रचार अतिरञ्जितः शिवसताक्षी नगरपालिका
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका झापाको चौथो नगरसभा उद्घाटनका लागि कसलाई प्रमुख आतिथि बनाउने भन्ने विषयमा खासै छलफल नभएकाले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरु तथ्यहीन, कपोलकल्पित र भ्रामक भएको नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी ७ का वडाध्यक्ष तथा प्रवक्ता नविन इजमले आज नगर कार्यपालिकाको तर्फबाट प्रेस विज्ञप्ती जारी गर्दै उल्लेखित विषयमा आएको सबै समाचार असत्य, भ्रामक एवम कपोलकल्पित रहेकाले धमिलो पानीमा माछा मार्ने दुस्प्रयास नगर्न सम्वद्ध पक्षलाई सचेत गराएका छन् ।
प्रवक्ता इजमद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सबै स्थानीय तहले हरेक वर्ष असार १० गते भित्रै बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार नगर कार्यपालिका बैठकमा तयारीबारे छलफल गरिएको विषय छुपाई रहनु पर्देन । तर नगर परिषद उद्घाटन गर्न आमन्त्रण गरिने प्रमुख अतिथिका विषयमा कुनै छलफल नभएको प्रष्ट पार्न चाहान्छौ ।’
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘नगर कार्यापालिकाले नीति, बजेट र कार्यक्रम तयार गर्दागर्दै निर्धारित समय घर्किदै गएको सन्दर्भमा समाचारमा आए जस्तो प्रतिनिधिसभाका सदस्य माननीय एलपी साँवा र नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेललाई आमन्त्रण गर्ने समय पक्कै थिएन । नगरपालिकासँग माननीय सांसद एवं महान्यायाधिवक्ताको सम्बन्ध बिगारिदिने कुत्सित मनसायले प्रकाशित यस्तो समाचार बनाउने तत्वहरुलाई पनि यसै विज्ञप्तीमार्फत सचेत गराउँदछौं ।’
नगरपालिकाको कुनै पनि आधिकारिक धारणाबारे जानकारी लिनु परेमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता वा सूचना अधिकारी मार्फत तथ्यगत र प्रमाणका आधारमा समाचार बनाउन आग्रह गर्दै नगरपालिकाका प्रवक्ता इजमले भनेका छन्, ‘चिया गफका कुनै विषयलाई समाचार हो भनी आमसञ्चार माध्यमको दुरुपयोग गर्नु पत्रकारिताका मर्म र प्रचलनको पनि उल्लघन हो । नगरपालिकासँग सरोकार भएका कुनै पनि विषयमा समाचार प्रकाशन प्रसारण गर्नुभन्दा अगाडि आधिकारिक धारणा लिँदा समाचारको सिद्धान्त ए बी सी को पूर्ण पालना गर्न पनि पत्रकार जगतलाई अवगत गराइन्छ ।’
Comments