Sajhamanch Archive

डेंगु संक्रमणको उच्च जोखिममा बिर्तामोडः यो वर्ष झापाका २६ जना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । सन् २०१९ को जुन महिना सम्ममा झापाका २६ जना डेंगु ज्वरोबाट संक्रमित भएका छन् । पहिले पहिले अगष्ट महिना पछिमात्र डेंगु ज्वरोका रोगी भेटिने गरेको भए पनि यो वर्ष हिउँदबाटै रोग फैलिएको हो ।

जनस्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन जीवन चौंलागाईंले यो वर्ष आजसम्मको तथ्याङ्कमा २६ जना डेंगु ज्वरोका कारण प्रभावित भएको बताएका हुन् ।

स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले आज बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु तथा विभागीय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरणमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।

झापाका डेंगु फोकल पर्सन चौंलागाईंका अनुसार बिर्तामोड नगरपालिकामा मात्र ९ जना डेंगु संक्रमित भेटिएका छन् । यस्तै दमक र मेचीनगरमा ७–७ जना, अर्जुनधारामा २ जना तथा भद्रपुरमा १ जनामा डेंगु ज्वरोबाट पिडीतहरु भेटिएका छन् ।

झापामा हालसम्म ३ जनाले डेंगु ज्वरोका कारण ज्यान गुमाउनु परेको छ । तथ्याङ्क अनुसार सन् २०१५ मा २ जना र २०१७ मा १ जनाले ज्यान गुमाएको चौंलागाईंले जानकारी दिए ।

डेंगु सार्ने लामखुट्टेहरु विशेषगरी शहरी क्षेत्रका उत्पन्न हुने भएकाले बिर्तामोडसहित अर्जुनधारा, दमक, भद्रपुर, शिवसताक्षी र कनकाई नगरपालिकाका बढी प्रभावितको सूचिमा रहेका चौंलगाईंको भनाई छ ।

सो अवसरमा महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले डेंगु सार्ने लामखुट्टे कसरी नेपाल छिर्यो र तिनले कस्तो ठाउँमा सन्तान उत्पादन गर्दछन् भन्ने बारे सहजीकरण गरेका थिए ।

उनका अनुसार जलवायु परिवर्तनको प्रभावले पृथ्वीमा तापक्रम बढ्नु, मानिसहरुको बाक्लो जमघट र आवतजावत हुनु, यातायातको पहुँच बढेसँगै सरुवा रोगहरु थपिने गरेको छ ।

महाशाखाका जनस्वास्थ्य अधिकृत कोइरालाले डेंगु नियन्त्रण गर्न विषादी छर्किने तत्कालीन उपाय सही नभएको पनि सुनाएका छन् । विषादी छर्किएर रोगका जीवाणुहरु नष्ट गर्न सकिन्न बरु उल्टै मानव स्वास्थ्यका लागि वातावरणीय हानी पुगेको निश्कर्ष पछि यस्तो काम गर्न छाडिएको बताए ।

अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले डेंगु ज्वरो लगाउने लामखुट्टेले विशेषगरी ‘भीआइपी’लाई ताक्ने गरेको आफूले बुझेको बताए । उनले थपे, ‘जो जसका घरमा फ्रिज, एसी, कुलर, गमला, फूलदानीहरु, खानेपानीका ट्याङ्की छन्; त्यहाँको सफा पानीमात्र एडिस एजिप्टाई लामखुट्टे बस्ने र अण्डा पार्ने भएकाले शहरी एवम् धनाढ्य वर्ग बढी सचेत हुन जरुरी छ ।’

नगरबासीलाई रोग लाग्न नदिनु जनप्रतिनिधिहरुको पनि दायित्व रहेकाले हरेक वडा र टोलटोलमा आफूहरुले जनचेतानमूलक अभियान चलाउने पनि नगरप्रमुख शिवाकोटीले प्रतिवद्धता जनाए ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले गत हिउँदमा पनि डेंगु ज्वरोबाट ४–५ जना संक्रमित भेटिएकाले यसको संक्रमण बढ्न नदिन सिंगो नगरपालिका क्रियाशील हुनुपर्ने आवश्यकता दर्शाइन् ।

आजै दिउँसो नगरपालिका अन्तरगतका स्वास्थ्य संस्था प्रमुख एवम् महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि सोही प्रकृतिको अभिमुखीकरण गराइएको छ ।

महाशाखाको टोली थप २ दिन बिर्तामोड नगरक्षेत्रमा रहेर डेंगुको लार्भा खोजीगरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखाका दिपेन्द्र चौधरीले साझामञ्चलाई जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *