Sajhamanch Archive

झापाका उद्योगी–व्यवसायीबीच आर्थिक विधेयक २०७६ बारे छलफल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ ।

झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी जारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो ।

अन्तरक्रियामा उद्योगीहरुले विधेयकमा उल्लेखित कतिपय प्रावधान व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकिने खालको भएकोले सच्याउनुपर्ने धारणा राखेका थिए ।

झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा अहिले पनि कतिपय ठूला करदाताले ठूलै परिमाणमा कर छली गरिरहेको समाचारले कर ठूलालाई चैन, सानालाई ऐनजस्तो बनेको उद्योगीहरुको गुनासो थियो । विधेयकमा भएको सबै कामदारको पान नम्बर दर्ता गर्नुपर्ने भन्ने प्रावधान व्यवहारिक रुपमा कार्यान्वयन गर्न समस्या आउनसक्ने उनीहरुको भनाई थियो ।

संघका महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन र वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले करका सम्बन्धमा उद्योगी–व्यवसायीका समस्या समाधानका लागि कार्यालयले पहल गर्ने बताएका थिए । कार्यक्रममा कर अधिकृत भीमप्रसाद शर्माले प्रचलित कर सम्बन्धी नयाँ करका विषयमा प्रस्तुति दिएका थिए ।

उद्योगीहरु चण्डीप्रसाद पराजुली, महेश चितलांगिया, विनोद चापागाईं, सत्यनारायण तायत, विनयराज गोयललगायतले उद्योगी–व्यवसायीले भोग्दै आएको समस्या उजागर गरेका थिए ।

कार्यक्रममा पूर्वाञ्चल प्लाइउड संघका अध्यक्ष दीपेन्द्र पोखरेल, नेपाल भेनियर उत्पादक संघका कार्यवाहक अध्यक्ष दीपक पाण्डेले दोहोरो–तेहेरो करका कारण उद्योगी–व्यवसायी मर्कामा परेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *