Sajhamanch Archive

नेपाल–भारत सीमानाकामा क्वारेन्टाइनको कन्तविजोकः प्रयोगशाला छ, छैनन् प्राविधिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

मेचीनगर । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यतिखेर तरकारी र फलफूल बोकेका मालबाहक ट्रक देशका विभिन्न भन्सार परिसरमा थन्किएका छन् । नयाँ व्यवस्थाले तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमति दिने नियम बनाएको छ ।

तर, झापाको काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष द्रुत परीक्षण इकाई नहुँदा व्यवसायी मारमा परेका छन् । एकतातिर प्रयोगशाला अभावमा व्यवसायी समस्यामा परेका छन् भने भएका प्रयोगशाला दश जनशक्ति अभावमा खासै सक्रिय छैनन् । जसका कारण भारतले बेलाबेला नेपालबाट निर्यात हुने वस्तुको आयातमा रोक लागउने गरेको छ ।

निक्कै सम्वेदनशील मानिएको पूर्वी नाकामा रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टामा सुविधा सम्पन्न प्रयोगशाला र पर्याप्त उपकरणहरु छन् । तर दक्ष जनशक्ति नहुँदा प्रयोगशाला प्रभावकारी बन्न सकेको छैन । जसका कारण बेलाबखत कृषि तथा कृषि उपजमा समस्या आउने गरेको छ । कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार साहा पर्याप्त दक्ष जनशक्ति अभावका कारण सोचेअनुसार प्रयोगशालामा काम नभएको बताउँछन् ।

‘कार्यालयमा पर्याप्त जनशक्ति छैन, सिमित स्रोत र साधनका बावजुद पनि हामीले सेवाग्राहीको काम छिटो छरितो रुपमा दिइरहेका छौ’ साहाले भने ‘हामीले प्रशासनिक काम गर्ने कि प्रयोगशालाको ।’ कार्यालयमा वरिष्ठ बाली संरक्षण अधिकृतसहित ८ जनाको दरवन्दी छ ।

साहाका अनुसार अहिले तीनदेखि चारजना कर्मचारीले कार्यालय धान्नु परेको छ । वरिष्ठ बाली संरक्षण अधिकृत झण्डै रिक्त झैं छ । दुईजना बाली संरक्षण अधिकृतको दरबन्दी भए पनि साहाले एक्लैले जेनतेन धानिरहेका छन् । अहिले साहासहित प्राविधिक सहायक, खरिदार र एकजना कार्यालय सहयोगीले काम गर्दै आएका छन् ।

उनका अनुसार प्रयोगशालाका लागि मन्त्रालयले छुट्टै प्राविधिकको व्यवस्था गरेको छैन । तर यहाँ सेवा लिन आउने सेवाग्राहीलाई सजिलो होस् भनेर आफूहरुले जसोतसो र जानेअनुसारको परीक्षण गरी सेवा दिइरहेको कार्यालय सहायक विनयकुमार साहा बताउँछन् ।

उनका अनुसार क्वारेन्टाइन कार्यालयले कृषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने गरेको छ । विषादीको परीक्षणका लागि बिर्तामोडस्थित विषादी अवशेष द्रुत परीक्षण इकाईमा पुग्नुपर्छ । कार्यालयमा प्रयोगशालाका लागि प्राविधिकको दरवन्दी समेत छैन । यसले गर्दा यहाँको प्रयोगशालामा भएका अत्यन्तै महंगा उपकरणहरु खिया लाग्ने अवस्थामा पुगेका छन् ।

परीक्षणका लागि अत्यधिकरुपमा नमूना आउने गर्छन् । कार्यालयका प्राविधिक सहायकले आफूले जाने अनुसारको परीक्षण गर्ने गरेको भए पनि जनशक्ति अभावमा प्रयोगशाला सुस्तजस्तै छ । अहिले तरकारीमा स—साना कीरा भए नभएकोमात्र प्रयोगशलामा हेरिन्छ ।

क्वारेन्टाइन कार्यालयले कृषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने भए पनि भाइरस, व्याक्टेरिया फंगललगायतको परीक्षण त्यहाँ हुँदैन । तर त्यसैका लागि करोडौं रुपैयाँ मूल्य पर्ने उपकरणहर प्रयोगशालामा राखिएको छ । उपकरण भएर पनि दक्ष प्राविधिक नहुँदा उपकरण प्रयोगविहीन छन् । अर्कोतर्फ व्यवसायीले समेत धेर थोर समस्या व्यहोरिरहनु परेको छ ।

उपकरण प्रयोगविहीन हुँदा यसमा सरकारले गरेको लगानी बालुवामा पानी सरह झैं भएको टिप्पणी हुन थालेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सो कार्यालयमा तत्काल दक्ष जनशक्तिको व्यवस्था गरी प्रयोगशालालाई प्रयोगमा ल्याउनुपर्ने आवश्यक देखिन्छ ।

भारतबाट तरकारी आयात घट्योः

मेची भन्सार कार्यालय काँकरभिट्टा भएर भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको छ । तर, फलफूल आयात भने सन्तोषजनक छ । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यो नाका भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो ।

तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमति दिने नियम बनाएको छ । तर, काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष द्रुत परीक्षण इकाई नहुँदा व्यवासायीहरु १७ किलोमिटर टाढा बिर्तामोड पुग्नुपर्ने अवस्था छ ।

‘केही दिनयतादेखि सो नाका भएर भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको छ’ कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार साहाले भने ‘क्वारेन्टाइन कार्यालयले कृषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने गरेको छ । विषादीको परीक्षणका लागि विर्तामोडस्थित विषादी अवशेष द्रुत परीक्षण इकाईमा पुग्नुपर्छ ।’

सिजनमा दैनिक १० देखि १५ ट्रक र बेमौसममा समेत ८ देखि १० ट्रक हरियो तरकारी आयात हुने गर्दथ्यो । केही दिनयता १–२ ट्रकमात्र हरियो तरकारी आयात हुने गरेको छ । तर, फलफूलको आयातमा भने कुनै कमि आएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *