Sajhamanch Archive

पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण सम्पन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । नगर क्षेत्रका पत्रकारलाई लक्षित गर्दै भद्रपुरमा सञ्चालित पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण शनिबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

नगर क्षेत्रमा बसोबास गरी विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी र जनप्रतिनिधि गरी ४० जनाले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए । शनिबार दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा क्लबका सल्लाहकार संयोजक चिन्तामणि दाहालले नेपाली पत्रकारितामा शुद्घ भाषाको प्रयोग र त्यसको महत्वका बारेमा सहजीकरण गरेका थिए ।

त्यस्तै भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले स्थानीय तहमा पत्रकार र सञ्चारको भूमिकाको बारेमा जानकारी गराएका थिए । सहभागीहरूलाई क्वलका अध्यक्ष गोविन्द चन्द क्षेत्री, माधव विद्रोही र गोपाल काफ्ले समेत सहजीकरण गरेका थिए ।

प्रेस क्लबका संस्थापक अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठले स्थानीय तहका पत्रकार र सञ्चार माध्यमले नगरको समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् ।

नगरभित्रका घटनालाई यहाँका पत्रकारले त्यति चासो नदिएका कारण नगर बाहिरका पत्रकार आउनु पर्ने बाध्यताको अन्त्य गर्न सहभागी पत्रकारलाई उनले आग्रह गरिन् ।

कार्यक्रममा क्लबका सल्लाहकार माधव विद्रोही, प्रशिक्षार्थी लक्ष्मी मिश्र र रुमा राजवंशीले मन्तव्य राखेका थिए । क्लबका सल्लाहकार गोपाल गिरीले सञ्चालन गरेको समापन समारोह कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *