Sajhamanch Archive

अन्तरमावि हाजिरीजवाफमा बिर्तामोडको कोहेड प्रथम

Published: in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले आयोजना गरेको अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा कोहेड कलेज प्रथम भएको छ । प्रथम स्थान हासिल गरेसँगै उसले नगद ७ हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।

प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो र हिमालयन इङ्लिस एकाडेमी धुलाबारी तेस्रो भए । दोस्रो भएको देवीले ४ हजार रुपैयाँ र तेस्रो भएको हिमालयनले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

संस्थाको वार्षिक कार्यक्रम तालिकाअनुसार चालू आर्थिक वर्षको अन्तिम कार्यक्रम अन्तरगत अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । आफूहरुले सहकारी नबुझी संस्था सुरु गरेकाले अबको पुस्तालाई विद्यालयस्तरबाटै यसबारे ज्ञान दिलाउन यस्तो प्रतियोगिता सञ्चालन गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

संस्थाको पहुँच क्षेत्रभित्र सञ्चालित माविहरुमध्ये ८ वटाले सहभागिताका लागि नाम टिपाए तापनि प्रतिकूल मौसमका कारण ६ वटा विद्यालयबीच प्रतियोगिता सञ्चालन गरिएको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी प्रतियोगिताको सञ्चालन क्वीज मास्टर केशव पोखरेलले गरेका थिए ।

नेपाल शिक्षक महासंघ झापाका सहअध्यक्ष छविलाल दवाडीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा मन्तब्य राख्दै उनले पहिले पहिले सहकारी भनेको बचत संकलन गर्ने र कर्जा लगानी गर्ने व्यापारिक क्षेत्र बुझ्ने गरिएकोमा पछिल्लो समयमा सामाजिक कार्यमा अग्रसर भएर परिचय फेर्दै गएको बताए ।

संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा आमन्त्रितहरुलाई संस्थाको शिक्षा तथा तालिम समितिका संयोजक ध्रुब कनालले शब्द स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *