Sajhamanch Archive

इन्टरनेटमा भ्याट ! ‘मूल्य बढाए सेवा प्रदायकका लागि लागि दुर्भाग्य’ : मन्त्री बाँस्कोटा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

झापा । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आज साउन १ गतेदेखि लागू हुनेगरी इन्टरनेटमा १३ प्रतिशत भ्याट जोडेर मूल्य वृद्धि गरेका छन् ।

सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णय अनुसार मुलुकभरका सेवा प्रदायकहरुले मूल्य वृद्धि गरेका हुन् ।

तर इन्टरनेट सेवा प्रदायकले सरकारको निर्णय अटेर गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चाहिँ सो निर्णय उनीहरुको लागि दुर्भाग्य साबित हुने टिप्पणी गरेका छन् । ‘सेवा प्रदायकको माग पूरा हुने अवस्थामा रहेको छ’ मन्त्री बाँस्कोटाको भनाई छ, ‘दुई चार दिन धैर्य नगरी मूल्य बढाए त्यो उनीहरुकै लागि दुर्भाग्य हुनेछ ।’

सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय आइस्पानले गरेको अध्यक्ष भोजराज भट्टले बताएका हुन् । संसदले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्थाा गरिएको छ ।

यो वर्षको बजेटमा पनि सरकारले यही प्रावधानलाई अघि बढाएको छ । गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो ।

व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो । सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेको सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्य वृद्धि गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *