Sajhamanch Archive

काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, by .

मेचीनगर । अध्यगमन कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७५/०७६ मा कूल एक करोड १९ लाख ५० हजार २१२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । पूर्वी नाका भएर पैदलमार्ग हुँदै नेपाल घुम्न आउने विदेशीको संख्या बढेसँगै राजश्वमा समेत उल्लेख्य वृद्घि भएको हो ।

नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिजा) जारी गरेवापत कार्यालयले उक्त रकम संकलन गरेको कार्यालय प्रमुख जनक कोइरालाले जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनमा हाल संकलित राजश्व २७ लाख ५१ हजार ९४२ रुपैयाँले वृद्घि भएको हो । त्यो वर्ष कार्यालयले ९१ लाख ९८ हजार २७० रुपैयाँ राजश्व संकलन गरेको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार अध्यगमनले तीन प्रकारका भिजा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिजा जारी गरेवापत २५ युएस डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि १०० युएस डलर लिने गरेको जनाएको छ ।

अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइवेरिया, इथियोपिया, क्याम्रुन, सोमालिया, प्यालेस्टाइन, स्वीजरलेण्डलगायतका ११ मुलुकका स्थलमार्गबाट आउने पर्यटकलाई चाहिँ नेपाल सरकारले भिजामा रोक लगाएको छ ।

६ महिनामा ६ हजार बढी विदेशी भित्रिए

सन् २०१९ को बितेको ६ महिनामा पूर्वी नाका भएर ६ हजार ६७८ विदेशी पर्यटकहरु नेपाल प्रवेश गरेका छन् । झापाको भद्रपुर विमानस्थलबाट रात्रीकालिन उडान शुरु भएपछि यो नाका भएर नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्घि भएको कार्यालय प्रमुख कोइरालाले बताए ।

विदेशीहरु काठमाडौ, पोखरा, चितवन, लुम्बिनीलगायतका धार्मिक एवम् पर्यटकीय स्थल घुम्न रुचाउने पर्यटन कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *