सशस्त्र प्रहरीले गरे आफ्नै श्रीमतीको हत्या
Published: (Updated: )
by .कञ्चनपुर । धान रोप्न खेतमा गएकी श्रीमतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीमा कार्यरत सहायक हवल्दार केशव कार्कीले टाउकोमा हिर्काएर आज बिहान हत्या गरेका छन् ।
घर बिदामा आएका सहायक हवल्दार कार्की र उनकी श्रीमती २७ वर्षीया सीता बिहानसँगै खेतमा काम गर्न गएका थिए । तर खेतमा धान रोपिरहेकी श्रीमती सीताको टाउकोमा हिर्काएर प्रहरी हवल्दार कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिएका हुन् ।
कञ्चनपुरको भीमदत्तनगरपालिका ८ तिलाचौरीमा आज बिहान भएको यस्तो घटनाले प्रहरीले अरुको सुरुक्षा दिनुपर्नेमा आफ्नै परिवार हत्या गरेर जनविश्वास गुमाएको टिप्पणी भएको छ ।
‘बिहान धान रोप्न जाने भनी घरबाटसँगै निस्केका रहेछन्’ घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक ऐरले भने, ‘श्रीमतीको टाउकोमा हिर्काएर खेतमै हत्या गरेको देखियो ।’
हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
Comments