Sajhamanch Archive

दमकका मेयरको चासोः सहकारी ऐन कस्तो बनाऔं ?

Published: in सहकारी by .

दमक । स्थानीय तहले सहकारी ऐन बनाउने जिम्मेवारी पाएपछि झापामा पनि सहकारी अभियानकर्मीसँग सोबारे छलफल चलाउन थालिएको छ ।

सहकारी अभियानसँग निकटस्थ तथा जानकार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले ऐन कस्तो बनाउँदा अभियान र स्थानीय तहसँग सहकारीका सदस्य लाभान्वित हुन्छन् भनी आइतबार साँझ लामो छलफल चलाएका छन् ।

नगरपालिकाको बैठक कक्षमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्रकुमार गिरी, महिला उपाध्यक्ष गीता कुँवर, सचिव युवराज ढकालसहितका दर्जन बढी अभियानकर्मीसँग नगरप्रमुख ओली र उपप्रमुख गीता अधिकारीले ऐनबारे चासो राखेका हुन् ।

सहकारी ऐन २०७४, प्रदेश सरकारले पठाएको मस्यौदा ऐन, सहकारी महासंघ र जिल्ला संघले प्रदान गरेका ऐनको मस्यौदाहरुलाई एकीकृत गरी नगरप्रमुख ओलीले दमक नगरपालिकाले जारी गर्ने ऐनको ड्राफ्ट राखेर अभियानकर्मीसँग छलफल चलाएका हुन् ।

सो अवसरमा सहकारी ऐन २०७४ ले सहकारी अभियानमा लगाउन खोजेको बन्देजलाई स्थानीय ऐनले चिरेर लैजानुपर्नेमा जिल्ला संघका अभियानकर्मीले सुझाब दिएका थिए ।

नगरप्रमुख ओलीले चाहिँ आफूहरुले ड्राफ्ट गरेको ऐनबाट अभियानलाई रचनात्मक बनाउन सहयोग गरेको अपेक्षा सुनाउँदै अभियानकर्मीबाट आएका सकारात्मक सुझाव समेटेर परिषद् बैठकमा पेश गर्ने बताए ।

अभियानकर्मीलाई राखेर ऐनको दफावार छलफल गराएकोमा जिल्ला संघका तर्फबाट अध्यक्ष ढकालले नगर कार्यपालिकालाई विशेष आभार प्रकट गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *