Sajhamanch Archive

‘खेलकुदमा नपत्याएको नेतृत्वले काम गरेर देखायो’

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापा जिल्ला खेलकुद विकास समितिले आजदेखि बिर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु गरेको छ ।

कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले सोको जानकारी गराउन तथा काता र कुमुतेजस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त भण्डारीले बताएका छन् ।

आज साउन ३ गतेदेखि ५ गतेसम्म सञ्चालित समर क्याम्पमा ब्राउन बेल्ट थर्ड क्यूदेखि ब्लाकबेल्टसम्मका १५० जना खेलाडीले भाग लिएका छन् । झापामा हाल ५० वटा डोजोमार्फत् ६ हजार हाराहारी खेलाडीले प्रशिक्षण लिइरहेको जनाइएको छ ।

 बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित सेमिनार उद्घाटन कार्यक्रमको अध्यक्षता खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका थिए । सेमिनार उद्घाटन गर्दै उपप्रमुख महतराले खेलकुदमा गरिएको लगानीले समाज परिवर्तन हुने बताइन् ।

खेलकुदमा लागेका मानिस अनुशासित हुने, स्वस्थ्य बन्ने एवम् आत्मरक्षाका लागि सबल रहने भएकाले खेलकुदको क्षेत्रमा विकास गर्न सकियो भने पक्कै पनि राष्ट्र विकासमा सहयोग पुग्ने उपप्रमुख महताराको भनाई छ ।

बिर्तामोड नगरपालिकाले खेलकुदमा वडास्तरीय योजना बनाएर कार्यान्वयनमा लगेको बताउँदै उपप्रमुख महतराले प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता पनि झापाले हात पारेकोमा खुशी ब्यक्त गरिन् ।

कार्यक्रमका अध्यक्ष शंकर थापाले करातेमा जिल्ला, प्रदेश एवम् राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न अब्बल खेलाडी उत्पादन गर्न टेक्निकल सेमिनार महत्वपूर्ण हुने बताए ।

सेमिनार सफलताको शुभकामना ब्यक्त गर्दै झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले शंकरले नियुक्ति पाउँदा खेलकुदको विकासमा धेरैले नपत्याएको तर सोझो हिसाबले काम गरेरै देखाए र सफल पनि बनेको टिप्पणी गरे । जिल्लाको खेलकुदमा कार्यकालको अन्तिम अवस्थासम्म पनि पूर्वाधार विकासमा अहिलेको कार्यकाल सफल रहेको गुरुङको बुझाई छ ।

कार्यक्रममा समाजसेवी हर्कलाल गिरी, वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले सेमिनार सफलताको शुभकामना व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *