Sajhamanch Archive

अब एटिएमबाटै तरकारी र फलफूलका बिउ पाइने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

ललितपुर । ललितपुर महानगरपालिकाले नेपालमै पहिलोपटक बिउ एटिएम स्थापना गरेको छ । सार्वजनिक निजी साझेदारी मोडेलअन्तर्गत सक्कल एग्रो एन्ड सिड ट्रेडर्ससगँको सहकार्यमा बिउ एटिएम स्थापना गरिएको हो ।

पुल्चोकस्थित एटिएमको औपचारिक सुरुवात भने केही दिनमा हुने महानगरले जनाएको छ । भारतीय कम्पनी बेटा अटोसँग साढे तीन लाख भारुमा महानगरले एटिएम मेसिन खरिद गरेको हो । यातायात र भन्सार गरी नौ लाख नेरुमा एटिएम तयार भएको कृषि महाशाखा प्रमुख केशव अधिकारीले बताए ।

अहिले परीक्षण गरिएको एटिएम सफल भएमा महानगरका २९ वटै वडामा बिउ एटिएमको स्थापना हुने उनले जानकारी दिए ।अर्गानिक खेतीको प्रर्वद्धन गर्ने उद्देश्यले बिउ एटिएमको सुरुवात गरिएको महानगरले जनाएको छ ।

एटिएममा ३६ जातका तरकारी तथा पुष्प रहेका छन् । एटिएममा मौसमी तरकारी र बिउ उपलब्ध छन् । एटिएम मेसिनमा सिजनअनुसारका सिमी, तितेकरेला, काँक्रो, रायो, काउली, मुला बन्दा, बोडी, गोलभेडा लगायतका तरकारीका बिउ पाउन सकिन्छ ।

त्यस्तै, डेलिया, सूर्यमुखी, सुपारी, जलबेडा, सयपत्रीलगायतका पुष्पका बिउसमेत पाइने अधिकारीले बताए । ट्रेडर्सले दैनिक बिक्री भएका बिउबिजनको दुई प्रतिशत राजस्व महानगरलाई बुझाउने व्यवस्था मिलाइएको अधिकारीले बताए । ‘जापान, चीन र भारतलगायत देशले यसको प्रयोग धेरै पहिलेदेखि गर्दै आएका थिए । नेपालमा यो पहिलो प्रयोग हो’ उनले भने ।

बिउ लिन एटिएममा नयाँ नोट छिराउनुपर्ने

लाभग्रहीले पहिला स्क्रिनमा रहेको ‘प्रेस हियर’ मा थिच्नुपर्छ । त्यसपछि स्क्रिनमा आवश्यक तरकारी तथा पुष्पको फोटोमा थिच्नुपर्छ । आवश्यक परिमाणको लागि ‘भेन्ड’ थिच्ने । अन्त्यमा क्यास थिचेर मूल्य अनुसारको रकम लिएर ‘इन्सर्ट नोट’ हालेर आवश्यक बिउको प्याकेट पाउने व्यवस्था छ ।

एटिएम प्रयोगकर्तालाई सहजताका लागि एटिएम प्रयोग गर्ने विधिको सूचना एटिएमै राखिएको अधिकारीले जानकारी दिए । मेसिनमा २०, ५०, १०० र ५०० को नोट छिराएर बिउबिजन खरिद गर्न सकिनेछ । तर, मेसिनले नयाँ नोट मात्र लिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *