Sajhamanch Archive

झापाका पर्यटकीय क्षेत्रको प्रवर्धनमा स्थानीय तहलाई सरकारको साथ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसवर्ष घोषणा गरेको देशभरका ९२ स्थापित पर्यटकीय गन्तव्यको सूचिमा यहाँस्थित प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पनि परेको छ ।

सरकारले पर्यटकीय क्षेत्र विस्तारका लागि थप गन्तव्यका रुपमा कमल गाउँपालिका वडा नम्बर ३ स्थित प्राचीन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई पनि समेटेको हो । कमल गाउँपालिकाको स्वामित्वमा रहेको सो क्षेत्रका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले विस्तृत परियोजना विवरण (डिपिआर) तयार गरेको थियो ।

सो क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न गाउँपालिका जुटिरहेका बेला संघीय सरकारले पर्यटकीय गन्तव्यहरुको सूचिमा पारेकोमा आफूलाई खुशी लागेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले प्रतिक्रिया दिएकी छन् ।

‘गाउँपालिकाको आन्तरिक स्रोतमार्फत् हामी यसको प्रवर्धनमा लागिरहेकै थियौं, सरकारले पर्यटकीय गन्तव्यहरुको सूचिमा पारिदिए पछि अब त सिङ्गो गाउँपालिकालाई पनि काम गर्न सजिलो भएको छ’ अध्यक्ष काफ्लेको भनाई छ ।

गाउँपालिका कै योजना अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकाका तर्फबाट २० लाख रुपैयाँको लागतमा सिमसार क्षेत्रमा रहेको पानीको संरक्षणका लागि बाँध बाँध्ने र पोखरीको डिलमा हावा महल निर्माणको काम सम्पन्न भएको अध्यक्ष काफ्ले बताइन् । त्यसैगरी सिमसार क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा थप ५० लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ ।

अहिले जताततै पानीका मुहान सुकिरहेका बेला पानीको संरक्षण गर्नु प्रमुख चुनौती भएकोले पहिलो चरणमा पानी संरक्षणको लागि बाँध बाँधिएको गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले जानकारी दिए ।

स्थानीय र प्रदेश सरकारको सहकार्यमा सो क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटन क्षेत्रमा मुख्य गन्तब्य बनाउने उद्देश्यमा आफूहरु जुटिरहेको आश्रम तथा सिमसार क्षेत्रका सचिव मधुसुदन अधिकारीले बताए ।

पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो सिमसार क्षेत्रमा पर्यटन प्रवर्धनको ठूलो सम्भावना रहेको बताइन्छ । धार्मिक तथा मनोरञ्जनका लागि सो क्षेत्र निकै महत्वपूर्ण हुने भएकाले सबैको साथ र सहयोग भएमा पर्यटकको रोजाइको गन्तव्य बन्नसक्ने वडा नम्बर ३ का अध्यक्ष नरप्रसाद दंगालले दावी गरे ।

योसँगै झापामा पर्यटकीय गन्तब्यको रुपमा सिमसार र धार्मिक स्थलहरु स्थापित हँदै गएका छन् । पछिल्लो समय पूर्वका धार्मिक पर्यटकीय स्थलहरुको सूचिमा चिल्लागढ, विराटपोखरी, पृथ्वीनगरको किच्चकवध, अर्जुनधारा जलेश्वरधाम, प्राचीन सभ्यता र इतिहास बोकेको सताक्षीधाम, बाहुनडाँगीको कृष्णथुम्की आदि रहेका छन् ।

यस्तै मनोरञ्जन एवम् पर्यटकीय क्षेत्रहरुमा सुरुङ्गाको जामुनखाडी सिमसार क्षेत्र, हेप्पील्याण्ड, नेपालको सबैभन्दा होचोस्थल कचनकवल, मेचीनगरको बाँसबारी सीमसार, कालिका सिमसार, मागुरमाडी तथा खुट्टेडाँगी सीमसार, पातालगंगा, अर्जुनधाराको सुखानी शहीद उद्यान आदि झापाभित्र तथा बाहिरका पर्यटकहरुको लागि गन्तब्य बन्दै गएका स्थलहरु हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *