एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम
Published:
by .बिर्तामोड । झापामा ६८ हजारभन्दा बढी सदस्य रहेको एवम् बहुव्यवसायमा अग्रसर एनएमसीले आफ्ना शेयर सदस्यहरु माझ सहकारी शिक्षा प्रवाह गर्न चार दर्जन हाराहारी प्रशिक्षक उत्पादन गरेको छ ।
एनएमसीको विभिन्न जिम्मेवारीहरुमा रहेका संस्थाका सक्रिय सदस्यहरुलाई आज बिर्तामोडमा प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो । शिक्षा तथा तालिम समितिको आयोजनामा भएको तालिममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उप्रेती र सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले सहजीकरण गरेका थिए ।
चालू आर्थिक वर्षमा सञ्चालन गरिने सहकारी शिक्षा कार्यक्रम अन्तरगत एनएमसीले सहकारी बुझाउने, संस्थाका कारोबारहरु जानकारी गराउनेसहित स्वास्थ्य जीवनका लागि स्वास्थ्य खानपीनका बारेमा अभिमुखीकरण गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
यसरी नै सहकारी शिक्षा तालिममा एनएमसीका सबै व्यवसायहरुका बारेमा, महिला सशक्तिकरणका प्रयासका बारेमा एवम् सदस्यलाई उद्यमी बनाउन गरिएका प्रयासहरु सदस्यमाझ राख्न संस्थाका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले सुझाव दिए ।
शिक्षा तथा तालिम समितिका संयोजक सावित्रा दाहाल भट्टराईको अध्यक्षतामा आयोजित तालिमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थिए ।
प्रशिक्षक प्रशिक्षण तालिममा सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले कुनै पनि तालिम लिन आएका सहभागीहरुलाई कसरी आफ्ना कुरा ध्यान दिएर सुन्ने बनाउन सकिन्छ भनी टिप्सहरु बाँडेका थिए ।
समितिका सदस्य केसी श्रेष्ठले शब्दले स्वागत गरेको प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले सहकारी शिक्षा प्रदान गर्ने सिलशिलामा आउने प्रश्नहरु कसरी निराकरण गर्ने भनी सञ्चालकहरुसँग अन्तरसम्वाद गरेका थिए ।
Comments