सहकारी बैंकको कारोबार सञ्चालन दिवसमा ऐन नियममाथि बहस
Published:
by .झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आज देशैभर कारोबार शुभारम्भ दिवस मनाएको छ । बैंकले यसै वर्षदेखि सबै ४४ शाखा स्तरमा पनि साउन १९ गतेलाई कारोबार शुभारम्भ दिवस मनाउन थालेको हो ।
शाखा कार्यालय व्यवस्थापन समितिका संयोजक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा बिर्तामोड शाखाद्वारा आयोजित विशेष कार्यक्रममा ‘सहकारीका लागि विद्यमान कानूनः अवसर र चुनौती’ विषयक गोष्ठी पनि गरिएको छ ।
कार्यक्रममा बैंकका सञ्चालक मेहन्द्रकुमार गिरीले सहकारीसँग निकट रहेका कानूनहरु केलाउँदै तिनमा संशोधन गर्नुपर्ने बुँदाहरु प्रस्तुत गरेका छन् । दर्जनौं कानून, ऐन तथा नियमहरुले सहकारी व्यवसायलाई सहकारी सिद्धान्तअनुसार चल्नमा बन्देज गरेको सुनाउँदै बैंकका सञ्चालक गिरीले समयानुकूल संशोधन र परिमार्जनको आवश्यकता औंल्याएका छन् ।
गत आर्थिक वर्षको वासलात केलाउँदै बैंकका सञ्चालक गिरीले बैंकमा २८ अर्ब निक्षेप रहेको, १९ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा एक अर्ब ५८ करोड रुपैयाँ शेयर पूँजी रहेको सुनाए ।
उनका अनुसार गत असार मसान्तसम्म बैंकमा ११ हजार १२५ सहकारी संघ–संस्थाहरु शेयर सदस्य बनेका छन् भने ६८ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले चालू आर्थिक वर्षमा १५ प्रतिशत शेयर लाभांश वितरण गर्न पुग्ने मुनाफा आर्जन गरेको र बैंकले गत आर्थिक वर्षबाट संरक्षित पूँजी फिर्ता कोष प्रदान गर्न थालेको पनि जनाइएको छ ।
सो अवसरमा बिर्तामोड शाखाको वित्तीय झलक प्रस्तुत गर्दै शाखा प्रमुख मुना घिमिरेले आसपासका २६२ वटा सहकारी संघ–संस्थालाई सदस्य बनाउँदा ८ करोड ८४ लाख ७२ हजार ५०० रुपैयाँ शेयर पूँजी निर्माण गरेको जानकारी दिइन् ।
गत असार मसान्तको तथ्याङ्क प्रस्तुत गर्दै शाखा प्रमुख घिमिरेले ८२ करोड ३७ लाख २७ हजार १७९ रुपैयाँ निक्षेप संकलन तथा ८० करोड ५५ लाख ८२ हजार २२१ रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ४७ लाख १० हजार ३३६ रुपैयाँ नाफा गर्न सफल भएको बताइन् ।
बैंकको वित्तीय झलक तथा ‘सहकारीका लागि विद्यमान कानूनः अवसर र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरिए पछि जिल्ला संघका पूर्वअध्यक्ष हरिचरण बानियाँ, सञ्चालक दुर्गाप्रसाद सापकोटा र नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीले आफ्ना धारणा राखेका थिए ।
यसैगरी बैंकको दमक शाखामा पनि अपरान्ह कारोबार सञ्चालन दिवस मनाइएको छ । देशैभर एकै प्रकृतिको कार्यक्रम एवम् विषय बस्तु प्रस्तुत गर्ने नीति बनाइएकाले सञ्चालक गिरीले बैंकको वित्तीय झलकसहित संशोधन गर्नुपर्ने ऐन कानूनहरु प्रस्तुत गरेका थिए ।
Comments