कर्णाली साकोसमा वार्षिक बजेट र कार्यक्रमको समीक्षा
Published:
by .बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सोमबार बिर्तामोडमा वार्षिक समीक्षा गोष्ठी गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को लक्षित उद्देश्यको समीक्षासहित २०७६/०७७ को लागि प्रक्षेपित बजेट सम्बन्धी छलफल गरिएको हो ।
जिल्लाभर १७ वटा सेवा केन्द्रमार्फत् २९ हजार सदस्यलाई सेवा प्रवाह गरिरहेको कर्णाली साकोसले विभिन्न समिति, उपसमितिका सदस्य पदाधिकारीको उपस्थितिमा समीक्षा गोष्ठी सञ्चालन गरेको हो ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित समीक्षा गोष्ठीमा सञ्चालक समिति, लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, सेवा केन्द्र उपसमिति र कर्मचारीहरुको सहभागिता थियो ।
वार्षिक समीक्षा गोष्ठीमा १७ वटै कार्यालयले आफ्ना आफ्ना कार्यप्रगति तथा चालू वर्षका लागि प्रस्तावित बजेटको खाका प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको समग्र वस्तुस्थितिसहित आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको लेखा विभागका विकाश कोइरालाले समीक्षा प्रस्तुत गरेका थिए ।
यस्तै चालू आर्थिक वर्ष २०७६/०७७ को बजेटको ब्याख्या र सिलिङ सम्बन्धी प्रस्ताव अनुगमन तथा कार्यक्रम विभागका लक्ष्मीप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षको समीक्षा र चालू वर्षको बजेटको ब्याख्या र सिलिङ सुनिसकेपछि संस्थाका अध्यक्ष टसबहादुर प्रधानले संस्थाको मार्गचित्र प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको वार्षिक समीक्षा गोष्ठीमा सहभागीहरुलाई उपाध्यक्ष इश्वरीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए । दिनभरको बसाई पछि सहभागीहरुले चालू वर्षका लागि लक्षित उद्देश्य प्राप्तिका लागि कटिवद्ध भएर लाग्नुपर्ने आवश्यकता बोध भएको सञ्चालक सदस्य सूर्य कार्कीले बताए ।
Comments