हाम्रो नेपालले गर्यो ७० हजार ऋण मिनाहा
Published:
by .भद्रपुर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चन्द्रगढी सेवा केन्द्रका सदस्य भोटलाल गणेशको नाममा रहेको ६९ हजार ५२३ रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहित सञ्चालक र कर्मचारीहरु आज गणेश परिवारको घरमा पुगेर कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । हाम्रो नेपालका शेयर सदस्य तथा ऋणि भोटलालकी पत्नी बसन्तीको गत असार १५ गते निधन भएको हो ।
संस्थाले सामाजिक सहयोग अन्तरगत शेयर सदस्यको एकाघर परिवारको निधनमा काजकिरिया खर्च तथा मृत्यु राहत प्रदान गर्ने नीति बनाएको छ । सोही नीति अन्तरगत भोटलालको नाममा रहेको वक्यौता ऋणमध्ये ६९ हजार ५२३ रुपैयाँ मिनाहा गरिदिएको अध्यक्ष दंगालले बताए ।
संस्थासँग नियमित एवम् स्वच्छ कारोबार गर्ने शेयर सदस्य तथा ऋणि भोटलालले लिएको कर्जा नियमित बुझाउँदै आएका थिए । पत्नी वियोगमा रहेका भोटलाललाई सान्त्वनासहित बाँकी कर्जा मिनाहा गरिदिने बारे गत साउन ११ गतेको सञ्चालक समिति बैठकमा निर्णय भएको जनाइएको छ ।
Comments