Sajhamanch Archive

‘सबै मन्त्रालयको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्छ’ : प्रम ओली

Published: in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने प्रष्ट पारेका छन् ।

संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयको बजेट विनियोजनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यालयले अुनगमन गर्न लागेको बताएका हुन् ।

विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुनःगठन गरिएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । प्रधानमन्त्री कार्यालयमा धेरै बजेट राखियो भनेर गुनासो गर्नुको कुनै अर्थ नभएको उनले तर्क गरेका छन् । “प्रधानमन्त्री कार्यालयमा भएको बजेट पुनःनिर्माण, प्राकृतिक प्रकोप उद्धारलगायत समेतको रहेकोले धेरै देखिएको मात्र हो” प्रधानमन्त्री ओलीले भनेका छन् ।

सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाई छ । “सधैं हिंडिरहेको बाटो अध्याँरोमा पनि हिंड्न सकिन्छ” प्रधानमन्त्री ओलीले थपे, “नयाँ बाटो हिंड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउँदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको जस्तो लागेको हो ।”

लोकतन्त्र कसैले किस्तीमा उपहार दिएको नभई आफूहरुले संघर्ष गरेर ल्याएको हुनाले यसमा कसैलाई शंका नगर्न ओलीले आश्वस्त पारेका छन् । अधिनयाकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगोको विकास गरेको प्रधानमन्त्री ओलीले टिप्पणी पनि गरेका छन् ।

भूकम्प पछिको पुनःनिर्माणलाई गति दिन सरकार लागिपरेको उनको भनाई छ । “पुनःनिर्माणका लागि नियुक्त गरिएका सिइओको ध्यान राजनीति र निर्वाचनमा रहेछ” प्रधानमन्त्री ओलीले व्यङ्ग्य गर्दै भने “त्यसैले पुनःनिर्माणको काम अघि बढेन, अब यसले गति पाउँछ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *