बिर्तामोडमा स्मार्ट बैंकिङ सम्बन्धी सूचना प्रविधि सेमिनार
Published:
by .झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ झापाको आयोजनामा सोमबार बिर्तामोडमा वित्तीय समावेशिताका लागि डिजिटल संरचना विषयक सूचना प्रविधि सेमिनार सम्पन्न गरिएको छ ।
सहकारी र बैंकिङ क्षेत्रले सफ्टवेयर राखेर आर्थिक लेनदेन गर्न छिटो र सजिलो बनाएको वर्तमान परिवेशलाई थप प्रभावकारी बनाउन तथा सर्वसाधारणलाई वित्तीय पहुँच अभिवृद्धि गराउन सहयोग पुगोस् भनी कार्यक्रमको आयोजना गरिएको क्यान महासंघ झापाका अध्यक्ष लक्ष्मीकान्त खनालको भनाई छ ।
क्यान महासंघका केन्द्रीय सदस्य दिपेश पाठकको प्रमुख आतिथ्यमा आयोजित वृहत् सेमिनारमा मदन भण्डारी कलेजका बिसिए कोअर्डिनेटर अरुण शर्मा, प्रभू बैंकका डिजिटल फाइनान्स म्यानेजमेन्ट अधिकृत केशव आचार्य र क्यान महासंघ झापाका सदस्य लोकप्रिय खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
आइसिटी फर गुड गभर्मेन्स नामक कार्यपत्र प्रस्तुत गर्दै अरुण शर्माले आइसिटी, गुड गभर्मेन्स, फाइनान्सियल सफ्टवेयरका बारेमा सहजीकरण गरेका थिए । आइसिटीका सकारात्मक र नकारात्मक पक्षबारे चर्चा गरेका शर्माले स्मार्ट बैंकिङको अवधारणाले आजको कारोबार सहज भएको प्रष्ट पार्दै सेवा प्रदायक संस्थाको सुरक्षा सम्वेदनशीलता हेरेरमात्र काम गर्न सुझाव दिए ।
यस्तै मोवाइल वालेट, प्रभू पे, एटिएम, क्यूआर कोडजस्ता अत्याधुनिक प्रविधि र क्यासलेस बैंकिङको आवश्यकता, महत्व तथा वित्तीय सुरक्षाका विषयमा प्रभू बैंकका केशव आचार्यले सहजीकरण गरेका थिए ।
यस्तै क्यान महासंघ झापाका सदस्य लोकप्रिय खनालले वित्तीय समावेशिताका विषयमा चर्चा गर्दै खुदुनाबारीका स्थानीयले विद्युत् महसुल तिर्न शनिश्चरे बजार आउनुपर्ने दृष्टान्त प्रस्तुत गर्दै उनीहरुले महसुलमा गर्ने खर्च र महसुल बुझाउन जाने–आउने यातायात एवम् चिया खाजा खर्चको तुलनात्मक विश्लेषण गरी आधुनिक प्रविधि अपनाउन उत्प्रेरित गरेका थिए ।
कार्यपत्र प्रस्तुति पछि क्यान महासंघका केन्द्रीय सदस्य दिपेश पाठक, क्यान महासंघ प्रदेश १ संयोजक देव लिम्बू र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले आ–आफ्ना धारणा राखेका थिए । क्यान महासंघ झापाका सचिव रोशन दाहालले सञ्चालन गरेको सेमिनारमा विभिन्न सहकारी संस्थाका सञ्चालक एवम् कर्मचारीको बाक्लो सहभागिता रहेको थियो ।
Comments