सन्दर्भ व्याज सकारात्मकः मेची सहकारी
Published: (Updated: )
by .दमक । मेची सहकारी संस्था लिमिटेड झापाले सहकारी विभागले हालैदेखि कार्यान्वयनमा ल्याएको सन्दर्भ ब्याजको स्वागत गरेको छ । ‘सहकारीमा थिति र वेथिति दुईवटै चलायमान छन् । थितिवालाले सन्दर्भ ब्याजको स्वागत गर्ने हो, वेथितिवालालाई टाउको दुखाई बनेको होला’ अध्यक्ष नारायणप्रसाद भट्टराईको भनाई छ ।
संस्थाको २३औं वार्षिकोत्सव एवम् २५औं वार्षिक साधारणसभाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईको सन्दर्भ ब्याजबारे सहकारी अभियानमा दुईखाले कुरा भइरहेकाले आफ्नो संस्थाको दृष्टिकोण प्रष्ट पारेका हुन् ।
संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गर्दै ३ हजार ५१४ सदस्यको १४ करोड ५५ लाख ३९ हजार रुपैयाँ शेयरपूँजी रहेको जनाएको छ । संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले आर्थिक विवरण प्रस्तुत गर्दै समीक्षा अवधिको वासलात १ अर्ब ४५ करोड १७ लाख ४२ हजार ७५३ रुपियाँ रहेको जानकारी दिए ।
समीक्षा वर्षमा ३ करोड ५७ लाख ४९ हजार २०८ रुपैयाँ मुनाफा गरेकोमा चालु वर्ष यसलार्इ बढाएर ६ करोड ५९ लाख ६० हजार बनाउने लक्ष्य रहेको व्यवस्थापक बगालेले बताए ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भट्टराइले सदस्यमुखी नयाँ नयाँ कार्यक्रमहरु थप गरिएको जानकारी गराउँदै घरविहीन संस्थाका सदस्यहरुलाई घर बनाएर किस्तामा बिक्री गर्ने, सदस्य विस्तार तथा सुविधा बृद्धि गर्ने जस्ता योजना सुनाए ।
संस्थाले सदस्यलाई दिइआएको स्वास्थ्य उपचार अनुदानमा वृद्धिको प्रस्ताव गरिएको छ भने एकल महिलालाई दिइने शेयर अनुदान पनि तीन गुनाले बढाइएको छ । कर्मचारीको तलब २५ प्रतिशतले बढाउने प्रस्ताव गरिएको छ भने काजकिरिया खर्चमा पनि बृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
सहकारी संस्थाले आज साउन २८ गतेबाट १५ दिवसीय अभियानसहित २५औं वार्षिक साधारणसभाको कार्यक्रम सुरु गरेको जनाएको छ । आज प्रतिवेदन सार्वजनिक गर्दै सदस्यहरुलाई अध्ययनको अवसर दिएर भदौ १२ गते हुने साधारणसभामा गहन सुझाबहरु राख्न सञ्चालकहरुले आग्रह गरेका छन् ।
मेची सहकारीले यो वर्ष स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कार राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेललाई प्रदान गर्नेभएको छ ।
यस्तै स्वर्गीय गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार डिकेश लामालाई दिइने घोषणा भएको छ । यसरी नै मेची पत्रकारिता पुरस्कार विष्णु पौडेललाई र मेची सञ्चारगृह पुरस्कार रेडियो भिजन बिर्तामोडलाई प्रदान गरिएको घोषणा भएको छ ।
सहकारी संस्थाका सल्लाहाकार संयोजक एवम् दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सन्दर्भ ब्याज कार्यान्वयनका लागि दमक नगरपालिकाले समिति गठन गरेर सहकारीको अनुगमन गरिने जनाए । उनले सहकारी एकीकरणका लागिसमेत सहज नीति बनाइएको बताए ।
सहकारीको प्रकाशन तथा सञ्चार उपसमितिका संयोजक गीता कुँवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रको सञ्चालन नरपति पाण्डेले गरेका थिए ।
Comments