गैसस लक्षित परिपत्र निरङ्कुश अभ्यास ! मेचीनगरमा ‘नागरिक सम्मेलन’ गरिँदै
Published: (Updated: )
by .मेचीनगर । गैससरकारी संस्था महासङ्घ झापाले यही असार १९ गते काँकरभिट्टामा ‘नागरिक सम्मेलन’को आयोजना गर्ने भएको छ ।
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहने सो सम्मेलन काँकरभिटाको खानेपानी उपभोक्ता संस्थाको सभाहलमा हुने महासङ्घले जनाएको छ ।
झापाका ६५ वटा गैरसरकारी संस्था आवद्ध रहेको महासङ्घ र तिनका अतिरिक्त नागरिक समाजका अगुवा तथा संस्थाका प्रतिनिधिहरुको सम्मेलनमा सक्रिय सहभागिता जनाउने बताइएको छ ।
महासङ्घले शुक्रबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी नागरिक सम्मेलन बारे जानकारी दिएको हो ।
गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य उमेश विश्वकर्माले सो अवसरमा बोल्दै लोकतन्त्र, मानवाधिकार र राजनीतिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गैससहरुप्रति सरकार अहिले नियन्त्रणमुखी बन्न थालेकोले नागरिक तहबाटै सरकारमाथि दवाव सिर्जना गर्न सम्मेलनको आवश्यकता परेको बताए ।
हालै गृह मन्त्रालयले गैससहरुप्रति लक्षित गर्दै जारी गरेको परिपत्रलाई निरङ्कुश अभ्यास भएको टिप्पणी गर्दै केन्द्रीय सदस्य विश्वकर्माले नेपालका गैससहरु सरकारी नियन्त्रणको विपक्षमा नरहेको प्रस्ट पारे ।
सम्मेलनमा ‘झापाको समृद्धिको आधार र सम्भावना’ विषयमा संविधानसभा सदस्य प्रेम गिरीबाट कार्यपत्र प्रस्तुत हुने र गैससको भूमिका बारेमा नागरिकहरुसँग छलफल गरिने गैसस झापाका अध्यक्ष छविलाल खतिवडाले जानकारी दिए ।
कार्यक्रममा दीगो विकास लक्ष्यका बारेमा जीताराम लामाबाट अर्को कार्यपत्रसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा महासङ्घ झापाका सचिव सोमराज ढकालले गैससहरुको भूमिका र महत्व दर्शाउन नागरिक सम्मेलन महत्वपूर्ण अवसर सावित हुने अपेक्षा व्यक्त गरे ।
ढकालले मेचीनगरमा आयोजना हुन लागेको सम्मेलनलाई सफल तुल्याउन मेचीनगरका सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, सामाजिक अगुवा, पत्रकारलगायतमा विशेष अपील गरेका छन् ।
Comments