Sajhamanch Archive

हिरासतबाट थुनुवा भागेको सम्बन्धमा छानविन सुरु

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतबाट दुईजना थुनुवा फरार भएको घटना बारे सत्यतथ्य छानविनका लागि गठन गरिएको दुई छुट्टाछुट्टै समितिले काम शुरु गरेको छ ।

प्रहरी हिरासतमा रहेका भारतको दार्जीलिङ जिल्ला अल्छिया बजारका २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डलले हिरासत कक्षको ताला फोरेर सोमबार राति भागेका थिए । सार्वजनिक मुद्दामा पक्राउ परेका दुवैजना फरार भएपछि घटनाको सत्य तथ्य छानविनका लागि प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाले छुट्टाछुट्टै छानबिन समिति गठन गरी काम शुरु गरेका हुन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा तीन सदस्यीय र जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

समितिले इप्रका धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीकाबहादुर कार्कीसहित ८ जना प्रहरी कर्मचारीमाथि छानबिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । घटना भएको चार दिन बितिसक्दा पनि हिरासतबाट फरार भएका थुनुवा नभेटिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठको भनाई छ ।

यस विषयमा छानबिन भइरहेको र घटनामा दोषी भेटिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही हुने उनले जानकारी दिए । समितिले सिसी क्यामेराको सहयोगमा छानबिन थालेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *