Sajhamanch Archive

सिक्किमेली जनतालाई नेपाल घुम्न आउन पर्यटन व्यवसायीको निम्तो

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

सिक्किम । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुने मिति नजिकिँदै गर्दा निजीक्षेत्र पनि प्रचारप्रसारमा अग्रसर भएको छ । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्रायाउने महत्वकांक्षी योजना अघि सारेकाले सो को कार्यान्वयनका लागि पर्यटन व्यवसायी पनि सक्रिय भएका हुन् ।

सोही प्रयोजनका लागि ट्राभल संघ झापाको अग्रसरतामा भारतको सिक्किम राज्यको ५ दिने भ्रमण आयोजना गरी यहाँका पर्यटन उद्यमीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । सिक्किम आएको टोलीले भारतका विभिन्न ठाउँबाट पर्यटकहरु नेपाल पठाइदिन आग्रह गरेको छ । नेपाल सरकारले अघि सारेको लक्ष्य पूरा गर्न ट्राभल संघ झापा अग्रसर भएको अध्यक्ष निरबहादुर कार्कीको भनाई छ ।

अध्यक्ष कार्कीको नेतृत्वमा सिक्किम आएको टोलीमा प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना, मन्त्रालयका प्रशासन प्रमुख राकेश निरौला, संघका महासचिव पृथुराज (प्रितम) गौतम, सचिव टीकाप्रसाद खरेल, कोषाध्यक्ष पेमा लामा, सदस्य हस्त तामाङ, संघका दमक नगर अध्यक्ष केदार बस्नेत, भद्रपुर नगर सचिव निर्मलकुमार राजवंशी, विराटनगर एशोसिएशन ट्राभल एजेण्ट संघका अध्यक्ष फडिन्द्र अधिकारीसहित चारजना झापाका पत्रकार छन् ।

नेपाल भ्रमण वर्षको प्रचारका लागि सिक्किम आएको टोलीले सिक्किमका विभिन्न भूगोलमा पुगेर त्यहाँका होटल तथा पर्यटन व्यवसायीसँग अन्तरक्रिया, छलफल गरी पर्यटक आदान प्रदानमा सहयोग गर्ने प्रतिवद्धता पनि गरेका छन् । भदौ १ गते शुरु भएको भ्रमण टोली ५ भदौमा स्वदेश फर्किएको हो ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सिक्किमका व्यवसायीहरुले रचनात्मक सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् । होटल एसोसिएशन अफ नाम्चीका अध्यक्ष पीके राईले नेपाली पर्यटकहरुको भरमा रहेका सिक्किमको पर्यटन व्यवसायका लागि पनि पर्यटक पठाइदिन आग्रह गरे । छलफलमा सहभागी सिक्किमेली होटल तथा ट्राभल व्यवासायीहरु सचिन शर्मा, जुनु राई, केशव ठटाल, होटल एसोसिएशन अफ नाम्चीका कानूनी सल्लाहकार एवम् पर्यटन तथा होटल व्यवसायी अधिवक्ता प्रियंका शर्मा बस्नेतलगायतले आ–आफ्ना धारण राख्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफूहरुको तर्फबाट सक्दो सहयोग रहेने प्रतिवद्घता गरे ।

सिक्किमेली पर्यटन व्यवसायीहरुलाई नेपाली टोलीका तर्फबाट सचिव बद्रीराज ढुंगानाले नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने आश्वासन दिँदै नेपालमा निर्धक्कसँग भयरहित वातावरणमा घुम्न सक्ने विश्वास दिलाए । सचिव ढुंगानाले हरेक व्यवसायीहरु पर्यटनमैत्री बन्नुपर्नेमा जोड दिँदै हरेकले आफ्नामा आउने पर्यटकहरुसँग गर्ने व्यवहार राम्रो, शिष्ट तथा सम्मानजनक हुनुपर्ने बताए ।

नेपाली टोलीले सिक्किमको राजधानी पूर्वी सिक्किम गान्तोक, नर्थ सिक्किम लाचुङ युमनाङ लगायतका स्थानमा समेत अन्तरक्रिया गरेको थियो । गान्तोकमा भएको कार्यक्रममा गान्तोक होटल एशोसिएशनका हरि शाही ठकुरीले दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न दुवै देशका व्यवसायी लाग्नुपर्ने आवश्यकता औंल्याए । आफ्नो देशमा कसरी बढीभन्दा बढी पर्यटक भित्रायाउन सकिन्छ र पर्यटकहरुका लागि के कस्ता सुविधा दिन सकिन्छ भनी सम्बन्धित निकाय सचेत हुनुपर्ने उनको भनाई थियो ।

सिक्किमेली पर्यटन व्यवसायीहरुलाई नेपाली टोलीले रुद्राक्षको माला पहिर्याएर भ्रमण वर्ष २०२० मा नेपाल घुम्नका लागि निमन्त्रणा गरेका थिए । भ्रमणको मुख्य उद्देश्य भारतबाट कसरी बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन सकिन्छ भनी यहाँ आएर छलफल गरिएकोले भ्रमण फलदायी र लाभदायी भएको सचिव ढुंगानाको प्रतिक्रिया छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *