सहकारीको तीज मिलन वृद्धाश्रममा
Published:
by .बिर्तामोड । यहाँस्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले यो वर्षको तीज मिलन कार्यक्रम परोपकार तथा अुसन्धान केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुसँग मनाएको छ ।
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त सामाजिक सेवा कार्यअनुसार मातृ भाग्यरेखा साकोसले वृद्धाश्रमका ज्येष्ठ महिलासँग तीज मिलन कार्यक्रम गरेको संस्थाको महिला समितिका संयोजक नैनकला भट्टराईले बताइन् ।
संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा परोपकार तथा अनुसन्धान केन्द्र परिसरमा आयोजित कार्यक्रममा संस्थाका महिला सदस्यहरुले नाचगान गरी वृद्धाश्रममा आश्रितहरुलाई मनोरञ्जन दिलाएका थिए । सो वृद्धाश्रममा १५ जना महिलासहित २७ जना आश्रित रहेको परोपकार तथा अुसन्धान केन्द्रका एकजना सदस्य रामप्रसाद भट्टराईले जानकारी दिए ।
विशेष संक्षिप्त कार्यक्रममा अध्यक्ष दाहालले संस्थाले भड्किलो र खर्चालु प्रकृतिको नभई कम खर्चमा तर अर्थपूर्ण कार्यक्रम आयोजना गरेको बताए । विगत वर्षहरुमा पनि संस्थाले थुप्रै सामाजिक क्षेत्रमा काम गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले यो पटक अलि पृथक र रचनात्मक हुने किसिमको कार्यक्रम अघि सारेको सुनाए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रबन्धक मुना घिमिरे, बिर्तामोड नगरपालिका नगर कार्यपालिकाका सदस्य द्रौपदी गणेश, साना मझौला साकोसका अध्यक्ष देविका बस्नेतले मन्तब्य व्यक्त गरेका थिए ।
महिला विभागका सहसंयोजक गोमा सिटौला पाठकले शाब्दिक स्वागत गरेको तीज मिलन कार्यक्रमा पत्रकारहरु गोपाल काफ्ले र भीमा शिवाकोटी तथा व्यवसायी कूलप्रसाद खरेलले तीजलाई भड्किलो होइन, सुसंस्कृत शिक्षाको पक्षपाती बनाउनु पर्ने सुझाव दिए ।
Comments