Sajhamanch Archive

हिसान झापाद्वारा ८ विद्यार्थी पुरस्कृत, विज्ञान र मानविकीमा कोहेड उत्कृष्ट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । गत २०७५ चैत महिनामा सञ्चालित कक्षा ११ को प्रि–बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने झापाका ८ विद्यार्थीहरु आज बिर्तामोडमा पुरस्कृत भएका छन् ।

उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई पहिलो पटक पुरस्कार प्रदान गरेको हो । हिसानको निर्णयानुसार कक्षा १२ अध्ययनरत ती विद्यार्थीहरुले सम्बन्धित विद्यालयबाट यो वर्ष छात्रवृत्ति पनि पाउने छन् ।

हिसानले जिल्ला प्रथम हुनेलाई नगद ५ हजार, दोस्रोलाई नगद ३ हजार र तेस्रोलाई नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । यस्तै छात्रवृत्तिस्वरुप जिल्ला प्रथम हुनेले १२ महिनाको, दोस्रोले ९ महिनाको र तेस्रोले ६ महिनाको शिक्षण शुल्क सम्बन्धित विद्यालयले छुट दिइने निर्णय छ ।

कक्षा ११ को प्रि–बोर्ड परीक्षामा मानविकी संकायबाट जिल्ला प्रथम र दोस्रो भई आज पुरस्कृत हुने विद्यार्थीहरुमा क्रमशः कमनर्स होम फर एजुकेशन (कोहेड) का सुहानी कर्ण र ग्लोबल एजुकेशनल एकाडेमी दमकका निरस दुलाल रहेका छन् । उनीहरुले पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै विज्ञान संकायमा जिल्ला प्रथम, दोस्रो र तेस्रो भई पुरस्कृत हुने विद्यार्थीहरुमा क्रमशः कमनर्स होम फर एजुकेशन (कोहेड) का दिप्सन भण्डारी, विभूती विद्या मन्दिर चन्द्रगढीका तितिक्षु अधिकारी र निधि मावि बिर्तामोडका दिपेश झा रहेका छन् । उनीहरुलाई कार्यक्रमका अतिथिहरुले पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

हिसानले पुरस्कृत गरेको व्यवस्थापन संकायका जिल्ला प्रथम हुने विद्यार्थी एकता एकाडेमी दमकका सन्ध्या श्रेष्ठ हुन् । यस्तै निधि मावि बिर्तामोडका अनुपमा निरौला दोस्रो र गोमेन्द्र बिर्तामोडल मावि बिर्तामोडका नमिता अधिकारी तेस्रो भएर पुरस्कार पाएका छन् । उनीहरुलाई कार्यक्रमका अतिथिहरुले पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

हिसान झापाका अध्यक्ष सुरेशबहादुर पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकारी दिनेश आचार्यको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह गरिएको हो । हिसान झापाका सचिव गौतम शर्मा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित र अतिथिहरुलाई हिसान झापाका उपाध्यक्ष गोविन्द लम्सालले स्वागत गरेका थिए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगर शिक्षा अधिकारी आचार्यले पुरस्कृत हुने विद्यार्थीहरुमा आजदेखि जिम्मेवारी थपिएको महसुस गर्नुपर्ने सुझाव दिए । उनले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने कामको थालनी गरेर हिसानले रचनात्मक अभ्यास गरेको बताउँदै पुरस्कृत विद्यार्थीहरुका सहपाठीका लागि पनि यस्तो कार्यले अभिप्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा हिसानका केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराईले पुरस्कार र सम्मानले व्यक्तिलाई जिम्मेवार बनाउँदै असल मार्गमा हिंड्न अभिप्रेरित गर्ने बताए । पुरस्कृतको व्यवहारमा परिवर्तन ल्याउन र जीवनमा सकारात्मक छाप छाड्न सक्यो भनेमात्र पुरस्कारले सार्थकता पाउने बताउँदै हिसान केन्द्रीय सदस्य भट्टराईले असल विद्यार्थीको संख्या बढाउन पुरस्कारको महत्व रहेको बताए ।

सो अवसरमा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौलाले विद्यार्थीलाई अब्बल बनाउन हिसानले गरेको प्रयासको सराहना गरे । सकारात्मक सोचको विकास भयो भने प्रतिष्पर्धामा अब्बल बन्न सकिने सुझाव दिँदै वडाध्यक्ष संग्रौलाले विद्यार्थीको सफलताले विद्यालयको पनि प्रतिष्ठा आर्जन हुने सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *