Sajhamanch Archive

नेपाल भ्रमण वर्षलाई सिक्किमेली पर्यटन व्यवसायीको ऐक्यवद्धता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

मेचीनगर । नेपाल र भारतको पर्यटन प्रवद्र्घन एवम् विकासका लागि दुवै देशका व्यवसायीहरु सहमत भएका छन् । झापाको मेचीनगरमा मंगलबार दुवै देशका पर्यटन तथा होटल व्यवसायी संघका पदाधिकारी, जनप्रतिनिधि, सरकारी अधिकारीबीच भएको अन्तरक्रियामा सहभागीहरुले दुवै देशको पर्यटन प्रवद्र्घन र विकासमा ऐक्यवद्घता जनाउँदै एकसाथ अघि बढ्ने जनाएका छन् ।

मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ तथा संविधानसभा सदस्य उषा गुरुङको उपस्थितिमा अन्तरक्रिया भएको हो । सो अन्तरक्रियामा संविधानसभा सदस्य गुरुङले नेपाल मन्दिरै मन्दिरको देश भएकाले यहाँ धार्मिक पर्यटकहरु उल्लेख्य रुपमा आउने जानकारी गराइन् ।

पशुपति नाथ, स्वयम्भु, हलेँसी महादेव, जानकी मन्दिर, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर लगायतका धार्मिक मठ मन्दिर र शक्तिपीठ रहेका र नेपालमा मात्रै कुमारी देवीको पूजा हुने भएकाले नेपाल धार्मिक पर्यटकको लागि रोजाइमा परेको गुरुङको भनाई थियो ।

सिक्किमको कला, संस्कृति, भेषभूषा, भाषाशैली र नेपालीबीच निक्कै समानता रहेकाले सिक्किमेली र नेपाली जनताबीचको सम्बन्ध अत्यन्तै प्रगाढ र समधुर रहेको गुरुङको भनाई छ ।

मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले दुवै देशका पर्यटन तथा होटल व्यवसायीहरुको समस्या साझा भएकाले एक आपसमा प्रतिस्पर्धी नभई सहयोगी र परिपूरक भएर व्यवसाय सञ्चालन गर्न सुझाव दिए ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न भारतीय पर्यटक नेपाल पठाइदिन भारतीय पर्यटन व्यवासायीहरुलाई वडाध्यक्ष तामाङले आग्रह गरे । मुलुकको पर्यटन विकासका लागि राज्यले अहिले जे जति काम गरिरहेको छ त्योभन्दा बढी नीजिक्षेत्रले गरेको भन्दै वडाध्यक्ष तामाङले खुलेरै प्रशंसा गरेका थिए ।

वडाध्यक्ष तामाङले पहिले नेपालमा हुने बन्द, हडताल, चक्काजाम सशस्त्र द्वन्दका कारण पर्यटकको संख्या अपेक्षा गरे अनुसार नभएको भन्दै अहिले नेपालमा स्थिर सरकार भएको, बन्द हडताल, चक्काजामजस्ता कुराको अन्त्य भएकाले विदेशीहरुलाई निर्धक्करुपमा नेपाल घुम्न आउन आग्रह गरे ।

नेपाल पर्यटन वोर्ड काँकरभिट्टा कार्यालयका निमित्त प्रमुख सुष्मिता दाहालले एशियाकै पर्यटन व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले बेला नेपाल पर्यटन बोर्डले बेला ‘इष्ट ट्राभल मार्ट’ आयोजना गर्दै आएको र यसमा नेपाल, भारत, भुटान बंगलादेशका पर्यटन व्यवसायीहरुको बढी सहभागिता हुने बताइन् । उनले अब हुने ‘इष्ट ट्राभल मार्ट’मा सहभागी हुन सबै व्यवसायीहरुलाई आग्रह गरिन् ।

सो अन्तरक्रियामा होटल एसोसिएशन अफ नाम्ची तथा पर्यटन व्यवससायीहरुकातर्फबाट सचिन शर्माले नेपालले भारतलाई जति व्यपार दिएको छ त्यति आफूहरुले दिन नसकेको स्वीकार गरे ।

केही दिनअघि भ्रमण वर्ष २०२० कार्यक्रम सफलरुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसार गर्ने उद्देश्यले सिक्किम पुगेको नेपाली पर्यटन व्यवसायी तथा सरकारी अधिकारीसहितको टोलीले भ्रमण वर्ष २०२० सफलरुपमा सम्पन्न गर्न र सो अवसरमा नेपाल आउन आमन्त्रण गरेका कारण आफूहरु प्रदेश नम्बर १ का पर्यटकीय स्थलको अध्ययन अवलोकनका लागि आएको भारतीय टोलीको भनाई छ ।

उनले चाहे नेपालमा बसेर होस वा नेपालमा पर्यटन व्यवसाय सञ्चालन गरेपनि यसमा देखिने समस्या साझा भएकाले समाधानका लागि दुवै देशका व्यवसायीहरुले हातमा हात मिलाएर सहयोगी भावनाले समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले नेपाली पर्यटन व्यवसायीहरु आन्तरिकभन्दा बाह्य पर्यटकका भरमा चल्नु परेकाले यहाँका व्यवसायीहरु पर्यटनमैत्री भएको धारणा राखे । उनले दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो दुवै देशका व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *