काँशीराज निरौला, जनज्योति कुइँनेटो र झापा आन्दोलन
Published: (Updated: )
by .आज मलाई सम्झना आयोः काँशीराज निरौला, अररिया कोर्ट, द्रोणाचार्य क्षेत्री अनि जनज्योति कुइँनेटोको । म मेची महाविद्यालयमा पढ्दै थिएँ । झापामा एउटा आन्दोलनको सुरुवात भएको थियो । त्यही आन्दोलन पछि झापा आन्दोलनमा रुपान्तरित भयो । केही जुझारु युवा, जसले नेपालका विभिन्न जातजाति, वर्ग र लिङ्गलाई उत्पीडनबाट मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभयो । त्यही आन्दोलनको जगमा नेकपा माले पार्टी गठन भयो । आज म ती दिनमा भएका केही महत्वपूर्ण घटनाहरुको स्मरण गरिरहेको छु ।
काँशीराज निरौला, विद्युत प्राविधिकरणको जागिरबाट अवकाश भएपछि हाल धुलाबारी खुट्टिडाँगीमा स्थायी रुपमा बसोबास गर्नुहुन्छ । वि. सं. २०२७/०२८ सनलतिर उहाँ पुहाँतुबारीमा बस्नुहुन्थ्यो । त्यसबेला वाम राजनीतिमा लागेका राधाकृष्ण मैनाली र अन्य केही साथीहरुले भद्रपुरको सगरमाथा चोकमा जनज्योति कुइँनेटो नामक एउटा पुस्तक पसल सञ्चालन गर्नुहुन्थ्यो । त्यतिखेर कम्युनिष्ट दस्तावेजहरु समेटिएका रेड बुक (राता किताब) कुइँनेटोमा राखिन्थ्यो । कुइँनेटोमा जो कोही पुग्ने र सस्तोमा किताब पाइने भएकाले म पनि त्यस्ता किताब किन्ने र पढ्ने गर्थें । त्यसको रेखदेख गर्ने जिम्मा काँशीराज निरौलालाई दिइएको थियो ।
ती किताबप्रति युवाको चाहना बढ्दै थियो । पुस्तक चाँडै नै पढेर सकिन्थ्यो । पुस्तक किन्न बिराटनगरमा रहेको बाजेको पुस्तक पसल जानु पथ्र्यो । पुस्तक सकिएपछि काँशीजी पुस्तक किन्न विराटनगर जानुभएछ । बिराटनगर जान सहज बाटो थिएन । राजमार्गको सबै भाग बनेको थिएन । त्यसैले होला, उहाँले पुस्तक पोको पारेपछि जोगवनी हुँदै गलगलिया आउने निधो गर्नुभएछ । त्यसताका चारु मजुम्दार, कालु सन्थालको नेतृत्वमा भारतमा नक्सलवादी आन्दोलन चलिरहेको थियो । भारतीय सरकार नक्सलवादी आन्दोलन दमनमा क्रुरताका साथ लागेको थियो । काँशीजी बिराटनगरबाट पुस्तक लिएर जोगवनी आई रेल चढ्नुभएछ ।
रेल अररिया पोर्टमा पुगेको थियो । उहाँलाई त्यहीँ नक्सलवादी भन्दै पक्रिइएछ र किताब पनि बरामद गरिएछ । उहाँलाई कठोर यातना पनि दिइएछ । यी सबै घटनाक्रम मलाई त्यति थाहा थिएन । पुस्तक लिन बिराटनगर गएको मात्र जानकारी थियो । त्यही सेरोफेरोमा म आफ्नै काम विशेषले भद्रपुर गएको थिएँ । पहिलेको त्रिभुवन स्मारक भएको नजिकै भद्रपुरको मूल बाटोमा हिंडिरहेको थिएँ, त्यहीँ द्रोणाचार्य क्षेत्रीसँग भेट भयो । उहाँले मेरो हात समातेर एकान्तमा लानुभई भावुक हुँदै काँशीजीका बारेमा केही जानकारी दिनुभयो । उहाँलाई के विश्वास रहेछ भने राधाकृष्ण, सिपी मैनाली अनि आन्दोलनमा संलग्नहरुमाझ यो कुरा सम्प्रेषण हुनेछ ।
उहाँको नजरमा मलाई पनि झापा आन्दोलनको पक्षमा रहेको छ भनेर बुझ्नु भएको थियो । द्रोणले भनुभयोः ‘प्रेमजी काँशिराज निरौलाका बाले एउटा बुढी भैंसी बेचेर काँशीजीलाई खर्च पठाउने काम गर्नु नपरोस् । उहाँलाई जेलबाट निकाल्ने काममा खर्च गर्न नपरोस् रे ! आरके र सीपीलाई मेरो यो सन्देश सुनाइदिनु होला, फरक नपरोस् । उहाँ पक्राउ पर्नु भएको छ, उहाँको ज्यान नै खतरामा छ ।’
म छक्क परेँ । अनि कहिले भेटेर आरके, सिपीलाई यो सब कुरा सुनाउनु भन्दै थिएँ । त्यही समयमा अचानक एउटा बैठक पर्यो, त्यसमा म पनि समावेश थिएँ । त्यसैबेला मैले द्रोणाचार्य क्षेत्रीले भनेको सबै कुरा बैठकमा सुनाएँ । त्यसपछि सबैजना भावुक हुनुभयो । बैठकमा एउटा निर्णय भयो । काँशीजीको बारेमा कुरा बुझ्नलाई विनोद पोखरेल र मलाई खटाइयो । हामी विराटनगरमा आइएको जाँच दिन जाँदै थियौं, त्यसैले त्यो जिम्मेवारी दिँदा काम गर्न सजिलो हुन्छ भनेर होला । हामी अररिया कोर्ट जाने भयौं ।
मैले त द्रोण जीलाई विचारले झापा आन्दोलनकै समर्थक सोच्तथेँ । तर, त्यसो होइन रहेछ । उहाँहरु त त्यसप्रति विमति राख्नु हुँदोरहेछ । त्यसपछि पो प्रष्ट भयो, उहाँहरु मनमोहन अधिकारी निकट माक्सवादी आन्दोलनको नजिक हुनु हुँदोरहेछ । झापा आन्दोलन वा विद्रोह माक्सवादी आन्दोलनको नजरमा विपक्षमा थियो । त्यसपछि हामीले अररिया कोर्ट जाने तयारी गर्यौं । कतिपय नेताहरुले नै तिमीहरुलाई पनि पक्रन सक्छ । नक्सलवादी भनेर भन्ने पनि थिए । तर, जे होस्, जिम्मेवारी लिएका कारणले गयौं ।
काँशीजीलाई भेट्न निक्कै गाह्रो पर्यो । नक्सलवादी भनेर उहाँलाई राखिएको हुँदा हामीलाई एकजना वकिलको नाम दिइएकाले अलिक सहज चाहिँ भयो । ती वकिल पनि वामपन्थी विचारका रहेछन् । उहाँ वामपन्थीका लागि बिना पैसा वकालत गर्ने र सहयोग पुर्याउने गर्नु हुँदोरहेछ । ती वकिलले पहरा दिने पुलिसलाई चुरोटको एक बट्टा दिए काँशीजीलाई भेट्न दिनसक्छ भन्नुभएको थियो । हामीले पनि चुरोटका बट्टा किन्यौं र हामी नेपालबाट आएका आफन्त हौं । काँशीजीलाई भेट्नुछ । उहाँ विरामी हुनुहुन्छ । औषधी पनि ल्याइदिएका छौं । अलिअलि पैसा पनि ल्याइदिएको छ भनी अनुरोध गर्यौं ।
हाम्रो अनुरोधलाई प्रहरीले स्वीकार गर्यो । काँशीजीलाई भेट्न हामीलाई १५ मिनेटको समय दिइएको थियो । सो समयमा सम्भव भएसम्म धेरै सूचना आदान प्रदान गर्ने प्रयास गर्यौं । काँशीजीको लागि केही रकम लिएर गएका थियौं, त्यो दियौं । गर्मीका कारण उहाँको शरीरभर घाउ भएकाले गर्दा औषधि किनेर उहाँलाई लगाई दियौं । र, हामी बिराटनगरतर्फ लाग्यौं । अररिया कोर्टमा भए गरेका सम्पूर्ण घटनाक्रमका बारेमा पार्टीमा जानकारी दियौं । त्यही अनुसार सायद पार्टीको पहलमा करिब ६ महिनापछि उहाँ छुट्नु भएको थियो ।
यो संस्मरणले झापामा वामपन्थी विचार कस्तो कठिनाई थियो । कसरी अगाडि बढेको थियो भन्ने बारेमा बुझ्न र समग्र नेपालमा नै यसले कसरी समर्थन पाएको रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
Comments