नेपालमै पहिलो शंखध्वनी प्रतियोगिता झापामा गरियो
Published:
by .बिर्तामोड । बिर्तामोडका ९ युवाले स्थापना गरेको एक्टिभ नाइन नामक संस्थाले आज झापाको बिर्तामोडमा शंखध्वनी प्रतियोगिता सम्पन्न गरेको छ।
‘हरेक नयाँ काममा हाम्रो हात’ भन्ने नारा दिएर गरिएको शंखध्वनी प्रतियोगिता सम्भवतः विश्वकै पहिलो पनि दावी गरिएको छ । र, आयोजक संस्थाले हरेक वर्ष भदौ १५ गतेलाई शंखध्वनी दिवसका रुपमा मनाउन सरकार समक्ष माग पनि गरिएको छ ।
प्रतियोगितामा नेपाल तथा भारतका ६३ जना प्रतियोगीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा भारत जलपाईगुडीका ८४ वर्षीय मोतिलाल शर्मा घिमिरे प्रथम भए ।
सो प्रतियोगितामा कनकाई नगरपालिकाका सुरेन्द्रकुमार खरेल दोस्रो र अर्जुनधारा ७ स्थित अर्जुृनधारा संस्कृत वेद विद्या पिठका पिठाधिस अग्निप्रसाद सिग्देल तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः ५ हजार १००, ३ हजार १०० र २ हजार १०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगिताको निर्णायकमा आचार्य पण्डित दुर्गाप्रसाद खतिवडा, रधुनाथ अर्याल र दामोदर न्यौपाने रहेका थिए । निर्णायकले प्रतियोगीहरुको भेषभूषा, ध्वनी, समयको आधारमा छनौट गरेका जानकारी गराए । हरेक प्रतियोगीलाई २ मिनेट शंखध्वनीको लागि समय प्रदान गरिएको थियो ।
प्रतियोगितामा बुद्धशान्ति–१ का बासुदेव मिश्र र सविन खनाललाई सान्त्वना पुरस्कार तथा बुद्धशान्ति १ का ४ वर्षीय सिजन दंगाललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । तीनै जनालाई ५०० नगदसहित प्रमाणपत्र प्रदान गरियो ।
एक्टिभ नाइनका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वैदिक सनातन धर्म संरक्षण समिति नेपालका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा रहेका थिए ।
संस्थाका सचिव भानुभक्त खनालले शब्दद्वारा स्वागत गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतम, साहित्य चौतारी झापाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य रोहित भट्टराईले गरेका थिए ।
तस्वीरः आमसञ्चार डटकमबाट
Comments