मौरीपालन सहकारीमा नयाँ नेतृत्व, १०६५१८५ रुपैयाँ मुनाफा
Published: (Updated: )
by .दूधे । यहाँस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाको बुधबार सम्पन्न १३औं वार्षिक साधारणसभा र छैटौं अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
तत्कालीन सतासीधाम गाविसमा स्थापित ४ वटा सामुदायिक बैंकहरु मिलाएर स्थापित सो सहकारीको नेतृत्व पालैपालो गर्ने सहमतिअनुसार निवर्तमान उपाध्यक्ष धनमाया थापा अध्यक्ष बनेकी हुन् । ११ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा लक्ष्मीदेवी सुवेदी चयन भएकी छन् ।
यस्तै संस्थाका सञ्चालक सदस्यहरुमा शिवमाया थेवे, मनु अधिकारी, आशावती चौधरी, राधिका पोखरेल र सन्तकुमारी सुनुवार छानिएका छन् । गोमादेवी बानियाँ, कमलाकुमारी लिम्बू, जीवनकुमारी उप्रेती र रणमाया माङ्यो पनि सञ्चालक सदस्य चयन भएका छन् ।
साधारणसभाले फूलकुमारी चौधरीलाई पुनः लेखा समिति संयोजकको जिम्मेवारी दिएको छ भने सदस्यहरुमा झुमादेवी खनाल र हेमकुमारी लिवाङ छानिएका छन् ।
उद्घाटन समारोहमा वक्ताका धारण
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सतासी महिला मौरीपालन सहकारी संस्था छुट्टै विशेषतायुक्त रहेकाले अन्यसँग एकीकरण नगरी थप व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।
सहकारीको पूँजी बृद्धि गर्न र क्षमतावान बनाउन एकीकरण गर्नुपर्ने आवश्यकता देखिएमा पनि मह उत्पादनको उद्देश्यमा प्रतिकूल प्रभाव पर्न नदिन नगरप्रमुख शेर्माले सुझाएका हुन् ।
संस्थाको १३औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको उद्घाटन पछि मन्तब्य राख्दै नगरप्रमुख शेर्माले विशेष प्रकृतिको अनि देशकै नमूना र उत्पादन प्रधान सहकारी भएकाले यसको प्रवद्र्धनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने पनि आश्वासन दिए ।
संस्थाका अध्यक्ष केशमाया थेवेको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपालले महिलाको अग्रसरता र नेतृत्वमा सञ्चालित सहकारीले पार्टटाइम काम गरेर पनि स्वावलम्बी बन्न सकिने रहेछ भन्ने पाठ सिकाएको बताइन् ।
सतासी महिला मौरीपालन सहकारीमा आवद्ध रहेका महिलाले वार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गरेको तथ्याङ्कले मौरीपालन व्यवसायको भविष्य सुन्दर रहेको विश्वास गर्न सकिने नगर उपप्रमुख नेपालको भनाई छ ।
संस्थाका ब्यवस्थापक देवी दाहालले सञ्चालन गरेको साधारणसभाको उद्घाटन कार्यक्रममा होक्से कृषि सहकारी संस्था बुद्धशान्ति १ का अध्यक्ष मोहन तिम्सिना, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र सताक्षी प्रेस ब्लवका अध्यक्ष छविलाल दवाडी तथा पूर्व वडाध्यक्ष डिल्लीरमण खतिवडाले आ–आफ्ना धारणा राखेका थिए ।
संस्थाको वित्तीय झलक
सतासी महिला मौरीपालन सहकारीमा हाल ४६८ जना शेयर सदस्य रहेका छन् । मौरीपालन र मह उत्पादनलाई सहकारीको मुख्य उद्देश्य बनाइएको सो संस्थामा बचत तथा ऋणको पनि सामान्य कारोबार हुने अध्यक्ष थेवेद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
संस्थाको चुक्ता शेयर पूँजी ८४ लाख ४४ हजार ६०० रुपैयाँ रहेको छ भने ११९ जना सदस्यहरुमाझ ९२ लाख ३८ हजार १३८ रुपैयाँ कर्जा लगानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सञ्चालन गरेको बचत कारोबारमा नौ लाख ८५ हजार ३१६ रुपैयाँ मौज्दात रहेको छ भने समीक्षा वर्षमा संस्थाले १० लाख ६५ हजार १८५ रुपैयाँ मुनाफा गरेको जनाइएको छ ।
सम्मान र पुरस्कार
साधारणसभाको अवसरमा संस्थाले ६ जनालाई सम्मान र पुरस्कार प्रदान गरेको छ । संस्थाको सदस्य बनेर २ गोलाबाट मौरीपालन ब्यवसायमा लागेकी फूलकुमारी चौधरीलाई उत्कृष्ट कृषकको सम्मान प्रदान गरिएको छ । संस्थाको लेखा समितिका संयोजकसमेत रहेकी चौधरीले अहिले १०० गोला मौरी पालेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेकोले उनलाई उत्कृष्ट कृषकको सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
यसैगरी संस्थाको सञ्चालक समितिमा रहेर विशेष योगदान गर्ने शिवमाया थेवे, कर्जा लिएर तोकिएकै मितिमा साँवा ब्याज किस्ता बुझाउने टिकामाया विष्ट र नियमित बचतकर्तामध्ये उत्कृष्ट सरिता सिटौलालाई प्रशंशापत्रले सम्मान गरियो ।
यस्तै संस्थाका लागि आवश्यक ठानेर एक कठ्ठा जमिन दान गर्ने दाता सताक्षी प्रेस क्लबका अध्यक्ष छविलाल दवाडी र संस्थाका तत्कालीन अध्यक्ष केशमाया थेवेले संस्था सञ्चालनमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको छ । ती सबै सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शेर्मा र विशिष्ट अतिथि नगर उपप्रमुख नेपालले हस्तान्तरण गरेका थिए ।
Comments