Sajhamanch Archive

असोज ११ देखि झापामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोडमा आगामी असोज ११ गतेदेखि हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बिर्तामोडको जायोन स्पोर्टस क्लवको आयोजनामा बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ ।

बडादशैंको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिएका छन् । प्रतियोगिताको तयारी तीब्र पारिएको गोल्डकप आयोजक समितिका प्रवक्ता अभिनाश राईले बताए ।

‘प्रतियोगितामा सहभागी हुने ३ वटा टीमको नाम पक्का हुन बाँकी रहेको बाहेक अन्य तयारी अन्तिम चरणमा पुगेको छ’ प्रवक्ता राईले भने, ‘मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी छ ।’

नेपालका पाँचवटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ ।

हाल प्रतियोगिता हुने डोमालाल राजवंशी रंगशालाको फुटबल मैदानमा घाँसको काँटछाँट र प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । आन्तरिक रुपमा खेल मैदान मर्मत संभार, बाँसको प्यारापिट निर्माण र प्रचारप्रसार लगायतको काम तीब्र पारेका छौं’ आर्थिक संयोजक दिपेन्द्र आछामीले भने, ‘आर्थिक संकलनका लागि प्रायोजकसँगको सम्झौतालाई अन्तिम चरणमा पुर्याएका छौँ ।’

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, विधागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई यसअघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *