Sajhamanch Archive

साक्षरता दिवसमा दर्जनौं सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ मा सञ्चालित दिव्यज्योति शिक्षा केन्द्रका सञ्चालक कालीचरण बस्नेत नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा सम्मानित भएका छन् ।

५३औं अन्तर्राष्ट्रिय तथा ४०औं राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शाखाले आइतबार आयोजना गरेको समारोहमा चन्द्रभानु ज्योति माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बस्नेतलाई उत्कृष्ट अध्यक्षको रुपमा सम्मान गरेको हो ।

समारोहका अध्यक्ष भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलगायतले बस्नेतलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरे । बस्नेत झापा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

उनले सञ्चालन गरेको दिव्यज्योति शिक्षा केन्द्रले ५ देखि १४ वर्षसम्मका बालबालिकालाई आँखामा पट्टी बाँधेर रङ चिन्ने कला, व्यक्तित्व विकास, नृत्यलगायतका प्रशिक्षण गराउँदै आएको छ ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्र्थीहरुको साँस्कृतिक प्रस्तुतिसमेत रहेको समारोहमा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने शिक्षासेवीलाई सम्मान एवम् विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।

शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन र शिक्षा शाखा प्रमुख उद्धव विष्टले स्वागत गरेको समारोहमा २०७५ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठ, शिक्षक महासंघका गणेश गिरी, नगरपालिकाको सामाजिक विकास शाखा संयोजक मित्रा भट्टराई र सम्मानितहरुको तर्फबाट बस्नेतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *