Sajhamanch Archive

हाम्रो नेपालले कमायो ५६,८६,७७७ रुपैयाँ, अझ उत्कृष्ट बन्न वक्ताको शुभकामना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारीमा लिइने ब्याजमा १६ प्रतिशतको क्यापले प्राविधिक समस्या सिर्जना गरेकाले पुनरावलोकन गरिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

देशैभरका सहकारी अभियन्ताहरु र विशेषगरी जिल्ला सहकारी संघहरुले संगठित भएर नै सरकारले तोकेको सन्दर्भ ब्याजको कुरा उठाउनु स्वाभाविक भएको पनि उनको भनाई छ ।

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको सातौं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका उप्रेतीले प्रश्न गरे, ‘राष्ट्र बैंकले विकास बैंकहरुलाई शून्य दशमलव १ प्रतिशत ब्याजदर घटाउनु परेमा झण्डै एक वर्षको समय प्रदान गर्दछ तर सहकारीमा हतारहतार निर्णय गरेर कार्यान्वयनमा ल्याउनु किन ?’

सहकारी अभियानलाई विभाजन नगरी एकतावद्ध बनाएर सन्दर्भ ब्याजदर पनि अभियानमैत्री बनाउन आफूहरु क्रियाशील रहेकाले तीन महिनाभित्रै गरिने पुनरावलोकनमा विशेष ध्यान पुर्याइने बैंकका अध्यक्ष उप्रेतीको भनाई छ ।

भदौ २२ गते आयोजना गरिएको हाम्रो नेपालको सातौं वार्षिक साधारणसभामा अध्यक्ष भवानीप्रसाद दंगालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन पढेपछि बैंकका अध्यक्ष उप्रेतीले भनेका छन्, ‘सात वर्षको अवधिमा गरिएको प्रगति र स्पिरिटमा संस्था अघि बढ्यो भने जिल्लाको मात्र होइन मुलुककै अग्रणी बन्ने सम्भावना देखेको छु ।’

‘संस्थाले सदस्यको वित्तीय आवश्यकता पूरा गरिरहेको पाएको छु’ बैंकका अध्यक्ष उप्रेतीले भनेका छन्, ‘पैसाको अभावले कुनै पनि सदस्यले उद्यमी व्यवसायी बन्न पाइँन भन्ने अवस्थाको सिर्जना हुन नदिन राष्ट्रिय सहकारी बैंक सेवा दिन स्थापित छ ।’

हाम्रो नेपालका कुनै पनि सदस्यले ऋण नपाउने अवस्था छैन भन्दै उनले एउटामात्र सहकारीको सदस्य बनेर वित्तीय आत्मनिर्भरता पाउने अवस्थामा अरुको सदस्य बनिरहन आवश्यक छैन, ऐनले पनि दिँदैन भनेका छन् ।

७औं वार्षिक साधारणसभामा हाम्रो नेपालले राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक रमेशप्रसाद पोखरेललाई सहकारी अभियन्ता सम्मान प्रदान गरेको छ । नेपालको सहकारी अभियानमा विभिन्न जिम्मेवारीमा रहेर दुई दशकदेखि सहकारीको उन्नयनमा लागेका पोखरेललाई संस्थाको अभियन्ता सम्मान गरेर कदर पत्रमा उल्लेख छ ।

कदरपत्र ग्रहण पछि मन्तब्य राख्दै पोखरेलले सहकारी अभियन्ता सम्मान गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै आफूमा जिम्मेवारी थपिएको महसुस भएको सुनाए । उनले हाम्रो नेपालको पहिलो साधारणसभामा आउँदा सञ्चालक टिमले बनाएको भिजन पढ्दा पक्कै केही गर्छ भन्ने पाएको थिएँ, जुन आज प्रतक्ष्य देख्न पाएकोमा गर्व लागेको बताए ।

सहकारीले राजनीतिक परिवर्तन बाहेकका हरेक क्षेत्रमा योगदान गर्न सक्ने भएकाले सक्षम र सवल बन्न ३४ हजार सहकारीलाई एकापसमा मर्ज गरेर पाँच हजारको हाराहारीमा ल्याउन अति आवश्यक भइसकेको सहकारी बैंकका पूर्व अध्यक्षसमेत रहेका पोखरेलले अभियान्ताको ध्यानाकर्षण गराए ।

एक नम्बर प्रदेश सरकारले सहकारी विधेयकमाथि अभियन्ताहरुसँग छलफल गरेर ऐन बनाउन लागेकाले अभियानमैत्री ऐन बन्ने विश्वास व्यक्त गर्दै सञ्चालक पोखरेलले सहकारी ऐन २०७४ का कतिपय प्रावधानहरु संशोधन गर्न महासंघले कार्यदल बनाइसकेको स्पष्ट पारेका छन् ।

साधारणसभा अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये एसईई २०७५ मा सामेल भई उत्कृष्ट अंक प्राप्त गर्ने रोहित धौराली र एलिसा भूर्तेललाई जनही २५०० नगदसहित प्रशंशापत्र प्रदान गरियो । यसैगरी तीनजना उत्कृष्ट बाल बचतकर्ताहरु बिकिता खरेल, अंकुश बस्नेत र निहा साहलाई जनही नगद ३००० रुपैयाँसहित प्रशंशापत्र प्रदान गरिएको छ ।

हाम्रो नेपालमा सदस्य बनेर उत्कृष्ट बचत कारोबार गर्ने तीनजना बचतकर्ता र तीनजना उत्कृष्ट ऋण कारोबारीहरु पनि नगद २००० रुपैयाँसहित प्रशंशापत्र र मायाको चिनोसहित पुरस्कृत एवम् सम्मानित भएका छन् । सम्मानितहरुमा बचतकर्तातर्फ उत्तम शिवाकोटी, चन्द्रकला खबास र सावित्राकुमारी सुडी रहेका छन् भने ऋणितर्फ तिर्था दर्जी, लेखराज सिटौला र अमरजित ठाकुर परेका छन् ।

वार्षिक साधारणसभामा आफ्नो मन्तब्य राख्दै झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले हाम्रो नेपालले आफ्नो वित्तीय कारोबारमा वर्षेनी २० प्रतिशत ‘ग्रोथ’ गरिरहेको पाउँदा खुशी लागेको सुनाउँदै प्रतिष्पर्धात्मक क्षमताको विकासमा यो संस्था उदाहरणीय रहेको बताए ।

हाम्रो नेपालले बचत तथा ऋण सहकारीका ‘कोर विजनेश’हरु पूरा गरेर आफ्ना सदस्यको मन जितेको पाइएकाले नै जिल्ला संघले पनि उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको सुनाए । अध्यक्ष ढकालले हाम्रो नेपालले सामाजिक सेवा कार्य अर्थात् समुदायप्रतिको चासो पनि उत्कृष्ट ढंगले निर्वाहा गरिरहेको मूल्याङ्कन पनि गरे ।

वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी, झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य चूडामणि ओझा, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौला, मोरङ जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्षसहित सहकारीकर्मी रमेश गरागाई, राजु आचार्यलगायतले आ–आफ्ना भनाई राखेका थिए ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा सचिव विपी लामिछानेले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष पृथ्वी ओलीले शब्दद्वारा स्वागत गरेका थिए ।

संस्थाको वित्तीय झलक

संस्थाको वार्षिक प्रगति प्रतिवेदन अनुसार समीक्षा वर्षमा ५० करोडको वासलात बनाएकोमा चालू वर्षका लागि ८० करोडको लक्ष्य लिएको छ । समुदायमा आधारित सक्षम र दिगो सहकारी संस्था बनाउने परिकल्पना गरेको हाम्रो नेपालको टिमले समीक्षा वर्षमा गत आर्थिक वर्षको तुलनामा हरेक विषयमा २० प्रतिशतले वृद्धि गरेको छ ।

संस्थाका अध्यक्ष दंगालले २०६९ सालमा ३७ जनाले १८ लाख ५० हजार शेयर पूँजीबाट स्थापना गरेको हाम्रो नेपालले सात वर्षको अवधिमा ५ हजार ९४६ जना शेयर सदस्य बनाएर ५ करोड १२ लाख ५ हजार ६०० रुपैयाँ पुर्याएको जनाए । उनले साधारणसभामा प्रतिनिधि बनेको शेयर सदस्यहरुलाई संस्थाले तयार गरेको ‘संस्था विकासको चरण हाम्रो नेपाल भिजन २०८०’ कार्यान्वयनका लागि सपथ पनि गराएका थिए ।

समीक्षा वर्षमा ५६ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाले सदस्यहरुको परिवारमा पर्ने जन्मदेखि मृत्युसम्मका अनेकन सुखदुखका कार्यहरुमा अभिभावकत्व निर्वाहा गरिरहेको जनाएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले सुत्केरी सुविधा, नवजात शिशु सुविधा, ऋणि सदस्यको वा उसको पति/पत्नीको मृत्य भएमा कर्जा मिनाहा, समवेदा एवम् श्रद्धाञ्जली, सदस्य भ्रमण आदि क्षेत्रमा सदस्यले सुविधा पाएका छन् । संस्थाले आफ्ना सदस्यहरुका लागि विभिन्न २० किसिमका सुविधाहरु प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

हाम्रो नेपालले समीक्षा वर्षमा शेयर लाभांशका रुपमा १९ लाख ६३ हजार ६४६ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषबाट १० लाख १३ हजार ७५६ रुपैयाँ गरी २९ लाख ७७ हजार ४०२ रुपैयाँ वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

समीक्षा वर्षसम्म हाम्रो नेपालमा २४ करोड ४५ लाख ११ हजार ४१२ रुपैयाँ निक्षेप रहेको तथा ३३ करोड ८८ हजार ६५५ रुपैयाँ शेयर सदस्य माझ कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा १६४ दशमलव ५६ प्रतिशतले सञ्चालन आम्दानी बृद्धि गर्दै एक करोड ३४ लाख ७७ हजार ९३१ रुपैयाँ आर्जन गरेको अध्यक्ष दंगालले सुनाए । संस्थाले समीक्षा वर्षमा ५६ लाख ८६ हजार ७७७ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *