सम्पन्नद्वारा साझामञ्च सम्मानित
Published:
by .बिर्तामोड । यहाँस्थित सम्पन्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभाको अवसरमा संस्थाको उन्नति र प्रगतिमा सहयोग गर्ने सञ्चार प्रतिष्ठान साझामञ्च डटकमसहित १८ जनालाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाको उद्घाटन कार्यक्रममा समाजसेवी महेन्द्रकुमार गिरी, सहकारीकर्मी ताराप्रसाद चापागाईं र सहकारी व्यवस्थापक कमल पराजुली सम्मानित भए ।
संस्थाले उत्कृष्ट बचतकर्ताका रुपमा ५ जनालाई, असल ऋणितर्फ ५ जनालाई र कर्मचारीतर्फ ५ जनालाई प्रशंशापत्र प्रदान गरेको छ । झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले बिर्तामोडमा मुख्य कार्यालय राखेर शनिश्चरे, धुलाबारी, चारआली र सुरुङ्गामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।
संस्थाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तमा शेयर पूँजी ७१ लाख तीन हजार १०० रुपैयाँ पुर्याएको छ भने सो मितिमा पाँच करोड पाँच लाख २६ हजार ३०० रुपैयाँ निक्षेप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाका शेयर सदस्यमाझ दुई करोड ३९ लाख ८१ हजार रुपैयाँ कर्जा लगानीमा रहेको र समीक्षा वर्षमा संस्थाले ८५ हजार ९७५ रुपैयाँ खुद मुनाफा कमाएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सामाजिक सुरक्षा कार्य अन्तरगत ज्येष्ठ नागरिकहरुलाई प्रतिमहिना २०० रुपैयाँ भत्ता दिने गतवर्षदेखि नै सुरुभएको कार्यलाई निरन्तरता दिएको छ भने दुईवटा सन्तान जन्माउँदा सम्म शेयर सदस्यलाई एक हजार ५०० रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था गरेको छ ।
चालू आर्थिक वर्षबाट सदस्य बीमा कार्यक्रम सुरु गर्ने योजना बनाएको संस्थाले एक लाख रुपैयाँ शेयर भएका सदस्यको दुई लाख रुपैयाँको र दुई लाख शेयर भएका सदस्यको पाँच लाख रुपैयाँको बीमा योजना पारित गरिएको छ ।
संस्थाका सचिव बुद्धिराज दंगालले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरुलाई सञ्चालक सदस्य सन्तोष सुब्बाले शब्दद्वारा स्वागत गरेका थिए ।
Comments