Sajhamanch Archive

बिर्तामोडको बजेट एक अर्ब १२ करोड ३२ लाख ४६ हजार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । गत असार २४ गते सम्पन्न तेस्रो नगर परिषद्बाट पारित कूल एक अर्ब १२ करोड ३२ लाख ४६ हजार बराबरको आम्दानी र खर्चको अनुमान गरी बजेट सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा भएको विशेष कार्यक्रममार्फत् नगर विकास योजना समेटिएको पुस्तक सार्वजनिक पनि गरिएको छ । नगरकार्यपालिकाले आयोजना गरेको सो कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगरलाई प्राप्त हुने आम्दानीको स्रोत र आम्दानीको अनुपातमा नै खर्च गरिने जानकारी गराए ।

‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिबृद्धि, सभ्य र स्वस्थ्य नागरिक, बिर्तामोड नगरपालिकाको समृद्धि’ नारा तय गर्दै विभिन्न १३ बुँदामा बजेट कार्यान्वयन गर्ने नगरप्रमुख शिवाकोटीले प्रष्ट पारेका छन् ।

गत असार १० गते तेस्रो नगरपरिषदबाट प्रस्तावित नीति र कार्यक्रम अनुसार नै बजेट प्रस्तुत गरिएको स्पष्ट पार्दै नगरप्रमुख शिवाकोटीले नगरपालिकाको आय र व्यवको अनुमान सुनाए । चालु आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक आयबाट २० करोड २७ लाख ५० हजार, नेपाल सरकार वित्तीय समानीकरणबाट २० करोड ९६ लाख, प्रदेश सरकार वित्तीय समानीकरण मार्फत ८२ लाख ९४ हजार आम्दानी हुने जननाइएको छ ।

यस्तै नेपाल सरकारबाट सशर्त अनुदान २४ करोड ८२ लाख, सामाजिक सुरक्षा भत्ता १० करोड, समपुरक कोष वापत २ करोड, लागत सहभागितामार्फत ८० लाख, संघीय सरकारको राजश्व बाँडफाँड वापत १३ करोड ८ लाख प्राप्त हुनेछ ।

यसरी नै बिर्तामोड नगरपालिकालाई, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ५७ लाख २ हजार, एडिबी मार्फत १७ करोड समपुरक अनुदान वापत २ करोड र जिल्ला समन्वय समितिमार्फत ९९ लाख प्राप्त हुनेछ । सबैगरी एक अर्ब १२ करोड, ३२ लाख ४६ हजार आम्दानीको स्रोत नगरपालिकाको बजेट पुस्तिकामा उल्लेख छ ।

नगरपालिकाले यो वर्षदेखि नगरभित्रबाट प्रकाशन/प्रसारण गरिने सञ्चार माध्यमलाई प्राथमिकतामा राख्ने नीति लिएको नगर विकास योजनामा उल्लेख गरिएको छ । नगरभित्रबाट प्रकाशित/प्रसारित सञ्चार माध्यमलाई निश्चित प्रक्रिया पूरा गरेपछि समानुपातिक ढंगबाट लोककल्याणकारी विज्ञापनमार्फत अनुदान दिने नयाँ नीति लिएको नगरप्रमुख शिवाकोटीले जानकारी गराए ।

बजेट कार्यान्वयका लागि १२७ दफामा नीति उल्लेख गरेको नगरपालिकाले शिक्षा विकास, कृषि, जनस्वास्थ्य, सूचना तथा सञ्चार, उद्योग, वाणिज्य, पर्यटन विकास, सहकारी विकास, न्याय, सुशासन, पूर्वाधार तथा सहरी विकास, राजश्व प्रशासन, लक्षित वर्ग तथा सामुदाय, पशुपंक्षीलाई बुुँदागत रुपमा समेटिएको छ ।

त्यसैगरी विविध विषय अन्तरगत ध्वनी प्रदुषण नियन्त्रण, नगरले सञ्चालन गरेका निश्चित बजेटका योजनामा टोलको पहिचान, नगर क्षेत्रविभत्रका विभिन्न भाषाभाषी, जातजातिको संस्कृति संरक्षण लगायतका विषयबस्तु समेटिएको छ ।

नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न आयोजित समारोहमा पत्रकारहरु चन्द्र भण्डारी, कृष्ण हुमागाई र राजु पाठकलाई नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरियो । यस्तै उत्कृष्ठ राष्ट्रसेवक कर्मचारीका रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र वडा नं. १ का सचिव टिका अधिकारीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा बिर्तामोडका ९ वटा निजी अस्पताल, नगरपालिकाका १० वटा वडामा विकास निर्माणका लागि गठित उपभोक्ता समिति मध्येबाट प्रत्येक वडामा उत्कृष्ठ काम गर्ने एक/एकवटा उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

त्यस्तै अनिवार्य अवकास प्राप्त कर्मचारीद्वय युवराज पाण्डे र भक्त घिमिरेलाई सम्मानसहित विदाई गरिएको थियो । कार्यक्रममा आमन्त्रितहरुलाई शब्द स्वागत नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले र सञ्चालन योजना प्रमुख जय तिम्सिनाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *