Sajhamanch Archive

सहारामा बम विस्फोटः झापा जिल्ला सहकारी संघ र नेफ्स्कूनले गरे भत्सर्ना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले आफ्नो सदस्य संस्था सहारा नेपालको निर्माणाधिन भवनमा आइतबार राति गराइएको बम विस्फोटनको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष गणेश ढकालले आज प्रेस विज्ञप्तीमार्फत् अब उपरान्त यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारीमाथिको आक्रमण तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेका छन् । १० वर्षे सशस्त्र युद्धकालमा समेत सहकारीमा आक्रमण नभएको यथार्थ बिर्सिएर अभियानको एउटा अग्रणी संस्था माथिको बम हमला नेपालका ६५ लाख सदस्य माथिकै हमलाका रुपमा सहकारी अभियानले लिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सहारा नेपाल अत्यन्त न्यून आय भएका सदस्यहरु बीच महिला सशक्तिकरण, स्वरोजगार सिर्जना, उद्यमशिलताको विकास गरी विगत २ दशकदेखि कार्य गर्दै आइरहेको संस्था हो । सदस्यमाझ राहत, सहयोगका विभिन्न कार्यक्रम गर्ने नेपालकै ठूलो संस्था पनि हो । सो संस्थाले गर्ने कुनै कार्यक्रममा सुधार गर्नुपर्ने भएमा सोबारे जानकारी र छलफलसमेत नगरी एकाएक बम बिष्फोट गराउने कार्य निन्दनीय छ ।’

प्रदेश नं. १ का ६ वटा जिल्ला कार्यक्षेत्र भएको, १ लाख ५० हजार सदस्य बनाई गरीब विपन्न तथा मध्यमस्तरका नागरिक माझ वित्तीय साक्षरतासहितको वित्तीय पहुँच, शिक्षा, स्वास्थ्यमा सहयोगसहित विभिन्न सामाजिक क्षेत्रमा समेत काम गरिरहेको सहारा नेपालले संस्थागत पूँजी निर्माण गर्दै आमसदस्यलाई उत्पादन, बजार र उद्योगमा जोड्ने अभियानमा लागिरहेको प्रति कसैले बिर्सननहुने विज्ञप्तीमा जनाइएको छ ।

यसरी नै सहाराको भवनमा गराइएको बम विस्फोटनको घटनाप्रति आपत्ती जनाउँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले घोर भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष डिबी बस्नेतले हस्ताक्षर गरी मंगलबार जारी गरिएको विज्ञप्तीमा सदस्यहरुको ससानो पूँजी संकलन गरी सदस्यहरुकै हितमा काम गर्ने उद्देश्यसहित सञ्चालित सहकारी संस्थामा भएको निन्दनीय कार्यप्रति साकोस अभियान र संघको तर्फबाट घोर निन्दा एवम् भत्सर्ना गर्दछौं भनिएको छ ।

विज्ञप्तीमार्फत् साकोस अभियानको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि नेफ्स्कूनले सरकारसँग माग पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *