सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने : मन्त्री अर्याल
Published:
by .काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको ५२औं स्थापना दिवस तथा ३८औं वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियानको प्रसंशा गरिन् । मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने दाबी गर्दै भनिन् राज्यले संविधानमा नै आर्थिक विकासको तीन खम्बे अर्थनीतिमा सहकारीलाई स्थान दिएकोले सहकारी क्षेत्रमार्फत सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न सबैले लाग्नुपर्ने बेला भएको छ ।
सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने दोहोर्याउँदै मन्त्री अर्यालले बढीभन्दा बढी सहकारीलाई ब्यवसायिक बनाउने र उत्पादनमा लगाउनेतर्फ मन्त्रालय पनि लागेको बताइन् । अब सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने भन्दै उनले सबै मिलेर एकैपटक अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।
बचत तथा ऋण सम्बन्धी काम गर्ने सहकारी संस्थाहरू अत्याधिक भएका कारण मन्त्रालयले मर्जर अभियान सञ्चालन गरेको जानकारी गराउँदै मन्त्री अर्यालले अब कृषिमा आधारित सहकारी संस्थामार्फत गाउँ गाउँमा खेती वृद्धि गरिनेछ । काभ्रे जिल्ला सहकारीमार्फत कृषि कार्य गर्ने नमूना जिल्लाको रूपमा स्थापित हुन सफल भएको भन्दै उनले बाँकी काममा पनि नमूना बनाउन लाग्न आग्रह गरिन् ।
Comments