Sajhamanch Archive

सिम्रिक साकोसका सदस्यलाई १९.३६ प्रतिशत लाभांश

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । वित्तीय कारोबार तथा सदस्यले प्राप्त गरिरहेको सेवाका दृष्टिकोणले जिल्लाको चौथो ठूलो मानिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

जिल्लाका १६ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गरेर २० हजार ४२९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसले २०७६ असार मसान्तमा ८४ करोड एक लाख ४४ हजार ४२४ रुपैयाँको वासलात बनाएको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले नवौं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई आत्मसात गरी सिम्रिक साकोस र सनसाइन साकोस चन्द्रगढीबीच आजैको मितिबाट एकीकरण भई संयुक्त साधारणसभा भइरहेको जानकारी गराए ।

सनसाइनको वासलातलाई एकीकृत गर्दा समीक्षा वर्षमा ९० करोड १५ लाख १९ हजार ६१५ रुपैयाँको वासलात बनेकोमा चालू आर्थिक वर्षमा एक अर्ब २६ करोड २१ लाख २७ हजार ४६१ रुपैयाँ पुर्याउने लक्ष्य लिइएको अध्यक्ष बस्नेतले सगौरव घोषणा गरे ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा आयोजना गरिएको साधारणसभामा संस्थाका अध्यक्ष बस्नेतले समीक्षा वर्षमा वित्तीय सूचकहरु ठिकठिकैमात्र वृद्धि भएकाले चालूवर्षमा विशेष चासो दिएर कारोबार बढाउनु पर्ने आवश्यकता रहेको शेयर सदस्यमाझ सुनाए । समीक्षा वर्षमा सिम्रिक साकोसले आफ्ना सदस्यहरुलाई १० दशमलव ३९ प्रतिशत शेयर बोनस र ८ दशमलव ९७ प्रतिशत संरक्षित पूँजी फिर्ता कोषबाट लाभांश वितरण गर्नेछ ।

सदस्यले प्राप्त गर्ने लाभांशसँगै सहकारीको सातौं अन्तर्राष्ट्रिय सिद्धान्त समुदायप्रतिको चासो पनि उच्चकोटीले निर्वाहा गरिरहेको जनाइएको छ । शेयर सदस्यहरुले जीवनका अनेकन सुख एवम् दुःखका क्षणहरुमा सिम्रिकको न्यानो साथ पाएको अवगत गराउँदै अध्यक्ष बस्नेतले स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणि सदस्यको मृत्युमा कर्जा मिनाहा आदिमा समीक्षा वर्षमा २४ लाख ७९ हजार ६४८ रुपैयाँ खर्च गरिएको जनाए ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको साधारणसभामा प्रमुख अतिथि उप्रेतीले सिम्रिकका कुनै पनि सदस्यले अब उप्रान्त पैसाको अभावमा व्यापार व्यवसाय गर्नबाट बञ्चित हुन नपर्ने आश्वासन दिए ।

‘सिम्रिकको वित्तीय कारोबार राम्रो रहेकाले राष्ट्रिय सहकारी बैंकले सिम्रिकको आवश्यकता सम्बोधन गर्नेछ र सदस्यले पनि कर्जा पाउनबाट बञ्चित रहनुपर्ने छैन’ बैंकका अध्यक्ष उप्रेतीले ढाडस दिए । राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई वित्तीय आवश्यकता पूरा गर्दै प्रविधि एवम् तालिम प्रदान गरेर सक्षम बनाउने गरेको अध्यक्ष उप्रेतीले सुनाए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्रकुमार गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा चेम्बर अफ कमर्शका अध्यक्ष ओमकृष्ण बिमली, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापा, पत्रकार एकराज गिरी तथा महिला चेम्बर बिर्तामोड नगर अध्यक्ष संगीता चिमरियाले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *