Sajhamanch Archive

माँ लक्ष्मी साकोसको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । यहाँस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सोमबार सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभामा अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा संस्थाको शेयर पूँजी एक करोड ६५ लाख छ हजार २०० रुपैयाँ पुर्याइएको उल्लेख छ ।

यस्तै समीक्षा वर्षमा ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको जनाइएको छ । संस्थाले गत आर्थिक वर्षमा आठ करोड ३१ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरी सात करोड ८४ लाख ६१ हजार रुपैयाँ अशुली गरेकोले कर्जाको गुणस्तरीयता राम्रो रहेको दावी पनि गरिएको छ ।

संस्थाका सचिव संजयकुमार शर्माले कार्यक्रमको सञ्चालन गर्दै वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरे । सचिव शर्माले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा उपयुक्त स्थानमा एउटा सेवा केन्द्र स्थापना गर्ने, कृषि फार्म स्थापना गरी पशुपालन गर्ने उद्देश्यका लागि जग्गा खरिद वा भाडामा लिने प्रक्रिया पूरा गर्ने उल्लेख छ ।

झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा उद्घाटित साधारणसभामा मन्तब्य राख्दै उनले राज्यले सहकारीको एकीकरण गरी पाँच हजारको संख्यामा सिमित राख्न गरिरहेको प्रयास सकारात्मक भएको बताए । उनले माँ लक्ष्मीको साधारणसभा भइरहँदा यही हलले आफूहरु कुन संस्थासँग मिलेर जाने भनी सोच बनाउन सुझाव दिए ।

संघका सचिव ढकालले २०७७ असोज भित्र एक सदस्य एक सहकारी नीति पूर्णरुपमा कार्यान्वयनमा आउने भएकाले महालक्ष्मीका शेयर सदस्यहरुले अरु संस्थालाई छाडेर यसमा मात्र कारोबार गर्ने वातावरण बनाउन पनि सुझाव दिए ।

‘अब एउटै प्रकृतिको सहकारीमा दोहोरो सदस्यताको अन्त्य हुँदैछ, त्यसैले अन्य बचत तथा ऋण सहकारी संस्थामा कारोबार गर्ने तपाईं महालक्ष्मीका सदस्यले कुनै एउटामा मात्र कारोबार गर्नुको विकल्प छैन’ सचिव ढकालले सदस्यहरुलाई सचेत गराए ।

संस्थाका उपाध्यक्ष देवेन्द्रकुमार सिंहले आमन्त्रितहरुलाई शब्दद्वारा स्वागत गरेको साधारणसभामा उत्कृष्ट कारोबारीहरुलाई सम्मानित गरिएको थियो । संस्थाले उत्कृष्ट बचतकर्ताका रुपमा निरा कार्कीलाई, उत्कृष्ट ऋणितर्फ विनोद राजवंशी, उत्कृष्ट ज्येष्ठ महिला शेयर सदस्य उषा दास तथा उत्कृष्ट शेयर सदस्यका रुपमा महेन्द्रकुमार गुप्ता सम्मानित भए ।

यस्तै संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विशाल साहा र गंगा मेचे पुरस्कृत भए । सो कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम उत्कृष्ट पत्रकारका रुपमा सम्मानित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *