सुनसरीले पायो खुल्ला दिसामुक्त जिल्लाको प्रमाणपत्र
Published:
by .सुनसरी । सुनसरी जिल्लालाई मंगलबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६औं खुल्ला दिसामुक्त जिल्ला हो ।
एक लाख ४४ हजार ३४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियानको थालनी गरिएको थियो ।
संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्दै सोको मंगलबार आयोजित कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम, प्लान नेपाल, वल्र्ड भिजन नेपाल, यूनिसेफ लगायतका विकास साझेदार र नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गरिएको थियो ।
प्रदेश १ मा अब झापा, मोरङ, भोजपुर र सोलुखुम्बुमात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेका छन् । यीमध्ये भोजपुर र सोलुखुम्बुमा १०० प्रतिशत घरधुरीमा शौचालय बनिसकेका छन् ।
खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका नमस्तेलाल श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागमा उपमहानिर्देशक मनोजकुमार घिमिरे, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम यू.एन. ह्याबिट्याटका कार्यक्रम व्यवस्थापन सुधा श्रेष्ठलगायतले बोलेका छन् ।
राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिको तर्फबाट र खानेपानी तथा ढल निकास विभाग, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख शंकरप्रसाद जैसवालले क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको तर्फबाट जिल्ला खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले समृद्ध समाज निर्माणका लागि सरसफाई र वातावरण संरक्षण महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रमका वक्ताहरुले खुल्ला दिसामुक्त अभियानका क्रममा हासिल गरेका उपलब्धीहरुको दिगोपनका लागि पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा खुल्ला दिसामुक्त अभियानमा योगदान गर्ने संघसंस्था, व्यक्ति, निकायहरुलाई सम्मान समेत गरिएको थियो ।
Comments