हिउँददेखि जनताले अनुभूती गर्ने गरी विकासका कामले तीब्रता पाउने : उपप्रधानमन्त्री पोखरेल
Published:
by .झापा । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वंश परम्परामा अधारित अनिर्वाचित राजसंस्थालाई जनताले तिरस्कार गरिसकेकाले अब कुनै किसिमको सिंगारपटार गरिएको राजसंस्था सम्भव नहुने बताएका छन् ।
संविधान दिवसको अवसरमा नेकपा झापाद्वारा बिर्तामोडमा आज आयोजना गरिएको जनसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
सरकारले कानून निर्माणको आधार वर्ष पूरा गरेको र आउने हिउँददेखि जनताले अनुभूती गर्ने गरी विकासका कामले तीब्रता पाउने उपप्रधानमन्त्री पोखरेलले दावी गरेका छन् । विगतका भ्रष्टाचारहरु अहिले धमाधम सार्वजनिक भइरहेकाले भ्रष्टाचारीलाई कारबाहीबाट उन्मुक्ति नदिइने तथा जनतालाई सहज सेवा प्रवाह गर्ने कुरामा कुनै सम्झौता नगर्ने दाबी गरे ।
उपप्रधानमन्त्री पोखरेलले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन हुनसक्छ तर संविधान संशोधनको नाममा अस्थिरताको खेती स्वीकार नगर्ने दृढता पनि दोहोर्याएका छन् ।
सरकारका राम्रा कामहरुलाई जनता माझ प्रचार गर्न र गलत भए पार्टी कमिटीमा आलोचना गर्न कार्यकर्ताहरुलाई सुझाव दिँदै रक्षामन्त्री पोखरेलले संविधानको अध्ययन गरेर जनतालाई बुझाउने काम पार्टी पङ्क्तिले पनि गर्नुपर्ने औंल्याएका छन् ।
पोखरेलले ९० प्रतिशत समर्थन प्राप्त संविधान जनताका प्रतिनिधिले बनाएको संविधान भएको र जनताका हकअधिकारको ग्यारेन्टी गरिएको संविधानको रक्षा जनताले नै गर्नुपर्ने पनि तर्क गरेका छन् ।
अर्को एक प्रसंगमा विकास निर्माणका लागि केन्द्रतर्फ मात्र हेर्ने परिस्थिति अब नरहेको र जनताको सेवाका लागि तीन तहका सरकारको व्यवस्था गरिएकाले जनतालाई पनि आफ्नो हकअधिकार बुझ्न उनले आग्रह गरे ।
अस्थिरताको राजनीतिक चक्रव्युहबाट मुलुकलाई जोगाउन सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधान राखिएकाले राजनीतिक स्थिरता कायम हुने र संक्रमणबाट मुक्ति मिल्ने उनले विश्वास दिलाए ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सपना अनुरुप नै नेपाल भारतवेष्ठित होइन भूजडित मुलुक बन्ने उनको आशा थियो । काठमाडौं–निजगढ द्रुतमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग लगायतका ठूला परियोजनालाई विशेष ध्यान दिइने उपप्रधानमन्त्री पोखरेलको भनार्इ छ ।
नेकपा झापाका अध्यक्ष चिन्तन पाठकको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य एवम् झापा ईञ्चार्ज रवीन कोइरालाले आमन्त्रितलाई शब्द स्वागत पछि कार्यक्रम सुरु भएको थियो । पार्टी एकीकरणपछिको पहिलो जिल्लास्तरीय जनसभामा ठूलो संख्यामा पार्टी कार्यकर्ता, विभिन्न तहका जनप्रतिनिधि तथा जनसमुदायको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हरिबोल गजुरेल, पार्टीको अन्तर्राष्ट्रिय विभाग उपप्रमुख एवम् केन्द्रीय सदस्य राम कार्की (पार्थ), नेकपा १ नं. प्रदेश ईञ्चार्ज भीम आचार्य, १ नं. प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश कमिटी सदस्य जसमाया गजमेर, झापा सहईञ्चार्ज धर्मशिला चापागाईलगायतले मन्तब्य राखे ।
कार्यक्रममा हास्यकलाकार राजा राजेन्द्र, गीतकार हरि पौडेल लगायतले आफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा झापा सचिव मणिकुमार साम्पाङले गरेका थिए ।
Comments