झापाका ७ स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा, सतर्क रहन रेडक्रसको आग्रह
Published:
by .झापा । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले झापाका विभिन्न ठाउँमा खेत बगाएको छ । पहिरोले एउटा घरका परिवार विस्थापित भएका छन् ।
साविक खुदनाबारी ६ हाल अर्जुनधारा वडा नम्बर ३ देवीथान चौकस्थित कवैपानीमा पहिरो आउँदा एउटा परिवार विस्थापित भएको हो ।
सोमबार दिउँसोे अविरल वर्षाका कारण पहिरो आउँदा उक्त वडाका गणेश खनालको टिनको घर भत्काई दिएको छ । टिनको छानो र पक्की भुई घरमा क्षति पुगेपछि पाँच जनाको खनाल परिवार छिमेकीकोमा शरण लिन पुगेका छन् ।
अर्जुनधारा वडा नम्बर ३ का वडा अध्यक्ष जीवनकुमार भण्डारीका अनुसार खनालको घर डाँडामा छ । लगातारको वर्षाले पहिरो गयो । पहिरोले उनको घर भत्काई दिएको भण्डारीले बताए ।
खनाल परिवारलाई नगरपालिका मार्फत नगद १० हजार, त्रिपाल र २५० वटा खाली बोरा उपलब्ध गराइएको उनले जानकारी दिए । पीडित खनाल परिवारलाई रेडक्रस झापाले पनि त्रिपाल उपलब्ध गराएको रेडक्रस झापाका आपतकालिन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश कार्कीले बताए ।
उक्त पहिरो गएको ठाउँमा कटान रोक्न तत्काल १० थान जालीको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । अर्जुनधारा नगरपालिकाको वडा नम्बर १, २ र ३ का घर तथा सयौँ विगाह खेतीयोग्य जमिन उच्च जोखिममा रहेको भण्डारीले जानकारी दिए ।
विरिङ, टाङटिङ र सुखानी खोलाको बाढी र पहिरोले वषैँपिच्छे अधिकांश घर तथा सयौँ विगाह खेतीयोग्य जमिन बगाउने गरेको छ । नगरभित्रको सबै भन्दाबढी जोखिम २ नम्बर वडामा रहेको जनाइएको छ ।
सुखानी खोलाको कजवेको पर्खाल पनि भत्काएकोले तत्कालका लागि नगरपालिकाले ५० हजार रुपैयाँ निकासी गरी लडेको पर्खाल मर्मत गर्ने उनले जानकारी दिए । वडा नम्बर १, २ र ३ का करिव पाँच विगाह खेतीयोग्य जमिन लगातरको वर्षासँगै आएको बाढीले बगाई दिएको उनले बताए ।
बिरिङ नदीबाट कटान भई रहेको अर्जुनधारा ५ को पानीकल क्षेत्रमा धेरै खेतीयोग्य जमिन नदीले कटान गरेको छ । लगातार नदीले कटान गर्दै लाने हो भने पानीकलको पश्चिमी गाउँ बगरमा परिणत हुने सम्भावना छ । तत्काल नै नदी कटान रोक्ने उपायतर्फ नगरपालिकाको ध्यान जान जरुरी रहेको स्थानीयको भनाई छ ।
त्यस्तै, कनकाई माई नदीमा आएको बाढी बस्तीमा पसेको छ । बाढीले केही घर र खेतीयोग्य जमिन उच्च जोखिममा परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
मेची खोलामा पानीको बहाव बढेपछि नजिकैका घरहरु जोखिममा परेका छन् ।
त्यस्तै कमल गाउँपालिका वडा नम्बर ७ का ३० घरपरिवार जोखिममा रहेको जनाइएको छ ।
रतुवा खोलाको बाढी ३०० मिटर नजिकैको बस्तीमा पसेपछि उक्त घरहरु जोखिममा परेका छन् ।
रतुवा, कनकाई, विरिङ, निन्दा, मेची खोलामा पानीको बहाव बढेकाले बाढी गाउँ पस्न थालेको रेडक्रसकर्मीहरुले बताएका छन् । भर्खरै रोपाई शुरु गरेका किसानको धानखेत नै खोलाले बगाएको छ ।
मेचीनगर १५, ज्यामीरगढीकी लकैब पासवानका अनुसार असार १० गते रोपाई थालेकी थिइन् । तर, अविरल वर्षा पछि आएको बाढीले खेतनै बगाएको छ । केही दिन अघिमात्र चर्को घामका कारण रोपाई गर्न सकिएको थिएन, अहिले रोपाई थालेको खेत नै बगाएको पासवानले बताइन् ।
त्यस्तै मेचीनगर ३ साविक निन्दातटमा कटान गरेपछि धेरै गाउँलेको विजोग भएको छ । मेचीनगरका विभिन्न ठाउँमा नदीको कटानले किसानको खेत र नजिकैको घर जोखिममा परेको पाइएको छ ।
बाढीका कारण जोखिममा परेका किसानका घर र खेत खोलाले बगाएपछि जनप्रतिनिधिले स्थानीयबासीलाई बाढीको प्रकोप रोक्न ठोस कदम चालिने र राहतको व्यवस्था गरिने आश्वसन दिएका छन् ।
निन्दा खोलाको बाढीले मेची नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ तथा ७, ८ , १३ , १४ मा कटानले क्षति पुर्याएको छ । रातिदेखि कटान हुन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
‘रातिदेखि नदीले निरन्तर कटान गर्न थालेको छ’ मेचीनगर २ का श्याम लामिछानेले भने ‘यदि बेलैमा यसलाई रोकथाम गर्न सकिएन भने विगतभन्दा यसपटक बढी क्षति व्यर्होनु पर्ने अवस्था आउछ ।’
यहाँका सयौँ स्थानीयबासीको खेत र घर बगाउने भएकोले विस्थापित हुने खतरा रहेको लामिछानेको त्रास छ ।
मौसम पूर्वअनुमान महाशाखाका अनुसार बिहीबारसम्म पूर्वमा झापादेखि मध्य तराईका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद सुवास रिमालले शनिबारसम्म छिटफुट वर्षा भइरहने बताए ।
आइतबारपछि वार्षात केही कमी हुने उनले बताए । उनले वर्षा गराउने मनसुनी न्यूनचापीय पूर्व र मध्य क्षेत्रमा सक्रिय रहेकोले केही दिन झरी परिरहने बताए ।
यसैबीच, कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायतका नदीहरुमा ठूलो बाढी आउने विगतको अवस्थालाई स्मरण गर्दै सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।
कुनै स्थानमा समस्या भएमा वा आपतकालीन अवस्था आएमा तुरुन्त रेडक्रस तथा नजिकैको प्रहरी प्रशासनलाई जानकारी गराउन नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले आग्रह गरेका छन् ।
झापाको पाँच गााउँपालिका र दुई नगरपालिका उच्च जोखिममा रहेको उनले बताए । उनका अनुसार झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल गाउँपालिका क्षेत्र बाढीको जोखिममा रहेका छन् ।
यस्तै, शिवसत्ताक्षी र भद्रपुर नगरपालिका पनि नदी कटान र बाढीको जोखिम क्षेत्र हुन् ।
अविरल वर्षाका कारण अहिले मानवीय क्षति नभए पनि झापाको एउटा गाउँबाट अर्को गाउँमा पुग्न सक्ने अवस्था नभएको ढकालले बताए । बाढीबाट बच्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, ट्रेनिङ प्राप्त स्वयम् सेवकहरुसँग निरन्तर छलफल भइरहेको उनले बताए ।
उच्च जोखिम भएका ठाउँहरुमा राहतका लागि रेडक्रसकर्मी तयारी अवस्थामा रहेको पनि ढकालले जानकारी दिए ।
गत वर्ष बाढीले झापामा १६ जनाको ज्यान गएको थियो भने २ जना वेपत्ता भएका थिए । ३ हजार ५६ घरमा क्षति भएको रेडक्रस झापाले जनाएको छ ।
Comments