अपर नौगाडले सुरु गर्यो विद्युत उत्पादन
Published:
by .झापा । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी असोज ६ गतेदेखि सफल परीक्षण उत्पादन सुरु गरेको छ ।
परीक्षण उत्पादन तथा प्रसारण पूरा गरी आगामी असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने आयोजनाले अनुमान गरेको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता भएको सो आयोजनाको कूल लागत १६० करोड रुपैयाँ रहेको थियो ।
आयोजनाले वार्षिक ४ दशमलव ८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ । यसमध्ये सुख्खा महिनामा १ दशमलव १४ करोड र वर्षातका चार महिनामा ३ दशमलव ७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको आयोजनाले जनाएको छ ।
सो आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने विश्वास कम्पनीले लिएको छ ।
Comments