सञ्जिवनीको नाफा ३५,६८,१२४ रुपैयाँ, पेन्सन बचतमा आकर्षण बढ्दै
Published:
by .बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको असोज ११ गतेका लागि निर्धारित १२औं साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आजदेखि सार्वजनिक गरिएको छ । वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज संस्थाले पत्रकार सम्मेलन गरी प्रतिवेदनका विशेष बुँदाहरुबारे जानकारी गराएको हो ।
संस्थाका अध्यक्ष यामकुमार चुडालले आर्थिक वर्ष २०७५/०७६ मा सञ्जिवनीेको वित्तीय कारोबारका तथ्याङ्कहरु, चालू आर्थिक वर्षका लागि तय गरिएका कार्यक्रमहरु एवम् साधारणसभामा पुरस्कृत हुने सदस्यहरुबारे जानकारी गराए । प्रतिवेदन अनुसार समीक्षा वर्षमा संस्थाको वासलात २५ करोड ६५ लाख ४० हजार ५९५ रुपैयाँको रहेकोमा चालू वर्षका लागि ३३ करोड ५४ लाख ८९ हजार ९१६ रुपैयाँको लक्ष्य लिएको छ ।
प्रतिवेदनका मुख्य बुँदाहरु सुनाउँदै संस्थाका अध्यक्ष चुँडालले २०६४ सालमा ४० जना सदस्यहरुबाट ४ लाख ९० हजार रुपैयाँ शेयर पूँजीबाट सुरु गरेको सञ्जिवनीले १२ वर्षको अवधिमा १ हजार ९०८ जना शेयर सदस्यबाट २ करोड २१ लाख एक हजार ६०० रुपैयाँ पुर्याएको बताए ।
समीक्षा वर्षमा ३५ लाख ६८ हजार १२४ रुपैयाँ खुद नाफा गरेको संस्थाले सदस्य परिवारमा हुने जन्मदेखि मृत्युसम्मका अनेकन सुख दुःखका कार्यहरुमा सहयोग पुर्याउने गरिएको जनाएको छ । यस्ता सामाजिक कार्यहरूमा एक लाख १० हजार ६५५ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले २०७५ सालमा सञ्चालन भएको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने सो अवसरमा जानकारी दिइयो । जसअनुसार संस्थागत विद्यालयतर्फ, बिर्तामोड नगरपालिका वडा नं ४ का होम सिटौलाकी छोरी वर्षा सिटौला, भद्रपुर नगरपालिका वडा नं. ८ का रञ्जनादेवी झाका छोरा यसकुमार झा पुरस्कृत हुने भएका छन् । यस्तै, सामुदायिक विद्यालयतर्फ बिर्तामोड नगरपालिका वडा नं ४ का देवीप्रसाद संग्रौलाको छोरा विवश संग्रौला पुरस्कृत गरिने भएको हो ।
त्यस्तै संस्थाले आर्थिक योगदानका आधारमा ५ जना उत्कृष्ट सदस्यहरुलाई सम्मान गर्ने भएको छ भने असल बचतकर्ता ३ जना, असल ऋणि सदस्यहरु ३ जना सम्मानित हुनेछन् । संस्थाले झापाको कनकाई माईभन्दा पूर्वको भूगोलमा कारोबार गर्नेगरी कार्यक्षेत्रको स्वीकृति पाएको छ । जसअनुसार बिर्तामोड, भद्रपुर, कनकाई, अर्जुनधारा र मेचीनगर नगरपालिका तथा बुद्धशान्ति, झापा, बाह्रदशी र हल्दिबारी गाउँपालिका कार्यक्षेत्र रहेको छ ।
सदस्यले गर्ने मासिक बचतको आधारमा १० वर्ष पछिदेखि जीवनभर पेन्सन पाउने गरी संस्थाले गतवर्षदेखि नै पेन्सन बचत कार्यक्रम सञ्चालन ल्याइएको जनाउँदै अध्यक्ष चुँडालले भने, ‘सञ्जिवनीको ड्रिम प्रोडक्टका रुपमा एक वर्ष अघिदेखि सुरु गरिएको पेन्सन बचत कार्यक्रममा हालसम्म २५० जना सदस्य बनिसकेका छन् । मासिक १ हजार ५०० रुपैयाँदेखि माथि बचत गर्नुपर्ने, १० वर्ष पुगेपछि अर्थात् २०८५ मंसीरदेखि जीवनभर पेन्सन पाइने र सदस्यको मृत्यु भएपछि परिवारले चाहेमा साढे दुई गुणा बचत फिर्ता लैजान पाउने व्यवस्था गरिएको छ ।’
पत्रकार सम्मेलनमा साझामञ्चले छायाङ्कन र सम्पादन गरेको १६ मिनेट लामो डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले मन्तव्यबाट स्वागत गरेको पत्रकार सम्मेलनको सञ्चालन संस्थाका व्यवस्थापक कृष्णप्रसाद खरेलले गरेका थिए ।
Comments