Sajhamanch Archive

चेपुवामा पर्ने त होइन ‘रातो टिका निधारमा’ ?

Published: in टिप्स/जानकारी by .

गएको जेठमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रै जात्रा’ पछि नेपाली फिल्मले भोग्दै आएको व्यावसायिक खडेरीलाई गएको हप्ता प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले तोड्यो । यो फिल्मले अहिले बक्सअफिसमा जबरजस्त व्यापार गरिरहेको छ । जसले गर्दा फिल्म नचलेर विरक्तिएका फिल्मकर्मीमा ठूलो साहस मिलेको छ । उक्त फिल्मले सुस्ताएको फिल्म बजार चलायमान बनाएको छ ।

आजबाट ‘कबड्डी’ को तेस्रो सिक्वेलले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । पहिलो हप्ताको तुलानामा मल्टीप्लेक्समा फिल्मको सोजमा गिरावट आएको छ । भने, सिंगल थिएटर पनि धेरै खोसिएको छ । यसको कारण, आजबाट प्रदर्शनमा आएको फिल्म ‘रातो टिका निधारमा’ हो । दशैंको विदा छोप्दै फिल्मले घटस्थापनाको छेकोमा प्रदर्शन थालेको हो । यस वर्षको निकै आशा गरिएको फिल्ममध्ये एक हो यो ।

तर, यो फिल्मको व्यापारमा ‘कबड्डी ३’ बाधक बन्नसक्ने कतिपयको विश्लेषण छ । दर्शकमा ‘कबड्डी ३’ प्रतिको क्रेज अझै कम भएको छैन । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण हलमा दर्शकको उपस्थिति राम्रो छ । फिल्मले मल्टीप्लेक्सबाट हलिउड फिल्म ‘र्‍याम्बो’ र बलिउड फिल्म ‘द जोया फ्याक्टर’ लाई समेत विस्थापित गरेको अवस्थामा ‘रातो टिका निधारमा’ लाई पनि बक्सअफिसमा असर नगर्ला भन्न सकिन्न ।

मल्टीप्लेक्सहरुले ‘कबड्डी ३’ को सोज केही प्रतिशत घटाएर ‘रातो टिका निधारमा’ लाई उल्लेख्य सोज बाँडेका छन् । सिंगल पर्दा पनि फिल्मले आधाभन्दा बढी ‘क्याप्चर’ गरेको छ । हलमा भिड्न ‘फ्रेस’ नेपाली फिल्म छैनन् । असोज १५ गतेभन्दा अगाडि बलिउड फिल्मको पनि डर छैन । अबको ४ दिनपछि भने बलिउडको ठूलो फिल्म ‘वार’ प्रदर्शन हुँदैछ । जसले यो फिल्मलाई बक्सअफिसमा आछुआछु बनाउनसक्छ ।

एकातिर ‘कबड्डी कबड्डी कबड्डी’ र अर्कोतिर असोज १५ गते प्रदर्शन हुन लागेको बलिउड फिल्म ‘वार’, ‘रातो टिका निधारमा’ लाई व्यापारिक सफलता हात पार्न सहज देखिएको छैन । दुई फिल्मको चेपुवाबाट बच्नका लागि यो फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ । यसमा फिल्म कति सफल हुनेछ रु त्यसको छिनोफानो शुक्रबार बिहान हलबाट फिल्म हेरेर फर्किएका दर्शकको प्रतिक्रियाले गर्नेछ ।

यस फिल्मका निर्देशक कुनै जमाना एकसेएक हिट फिल्म दिएका अशोक शर्मा हुन् । यो फिल्मबाट उनले आफ्नो छोरा अंकितलाई अभिनयमा डेब्यू गराएका छन् । यसकारण उनीमाथि यसपटक फिल्म सफल बनाएरै छाड्नु पर्ने चुनौती र छोरालाई अभिनेताको रुपमा स्थापित गर्नुपर्ने जिम्मेवारी छ । फिल्ममा अंकितको जोडीको रुपमा अभिनेत्रीमा अहिलेकी ‘हटकेक’ साम्राज्ञी आरएल शाह छिन् ।

रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहेको ‘रातो टिका निधारमा’ ले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *